धराहराको पार्किङको विषयमा मन्त्रालय र महानगरबीच टकराव
SamacharDesk | २०८० माघ २३, मंगलबार

सहरी विकास मन्त्री सीता गुरूङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ रोक्नु पर्ने बताएकी छिन ।
मन्त्रालयबाट काठमाडौं महानगरपालिकालाई पार्किङ बन्द गर्न पत्र आएपछि प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गरेका छन्।
सोमवार विहान उनले आफ्नो फेसबुक वालमा लेखेर आफ्नो आक्रोश व्यक्त गरेका छन् । ‘उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?
पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नु भएको थियो, नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ, भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ’ उनले लेखेका छन् ।
उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न चेतावनी समेत दिएका छन् ।
‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।’ उनले भनेका छन् ।
यता यस विषयमा सोमवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सहरी विकास मन्त्री सीता गुरुङले निर्माण सम्पन्न नभई महानगरले जबरजस्त रूपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन गरेको बताएकी छिन् ।
धरहराको निर्माण कार्य पूरा नहुँदै महानगरले जबरजस्ती ढंगले पार्किङ गर्ने व्यवस्था गरेको बताउँदै नरोके परिणाम राम्रो नहुने चेतावनी समेत दिएकी छिन् ।
उनले पत्रकारहरुसँग भनिन, धरहराको उद्घाटन भए पनि त्यहाँ रहेका विभिन्न संरचनाहरु बनाउन बाँकी रहेको अवस्थामा महानगरले पार्किङको लागि खुला गर्नु गलत भएको बताए ।
उनले भने, “अहिले पार्किङ खुला गरेको स्थानमा अक्सिजनको व्यवस्था भएको छैन । फायर फाइटिङको व्यवस्था भएको छैन, बत्तिको व्यवस्था भएको छैन ।
सीसी क्यामरा राख्ने काम अभैm बाँकी नै छ । यस्तो अवस्थामा त्यहाँ केही दुर्घटना भयो भने को जिम्मेवार ?” भनी प्रश्न गर्नुभएको छ ।
निर्माण व्यवसायीहरूले हस्तान्तरण गर्न बाँकी नै भएको अवस्थामा यसरी जबर्जस्त ढंगले महानगरले गरेको काम विधिको शासन विपरीत भएको उनले बताइन् ।
२०७८ वैशाख ११ शनिबार तत्कालिन प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गरेका थिए ।
Categorized in स्थानीय