वसन्त श्रवणमा के गाइन्छ?
SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७८ माघ २३, आइतबार

प्रत्येक वर्ष वसन्त पञ्चमीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारमा वसन्त श्रवण भनी वसन्त रागमा आधारित संगीत प्रदर्शन हुन्छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा राजपुरोहितद्वारा विशेष पूजा गरी वसन्त रागमा संस्कृत भाषाको गीत सुनाइन्छ । त्यसपछि विधिअनुसार पूजाको फूल–प्रसाद विशिष्ट अतिथिहरूलाई प्रदान गरिन्छ ।
वसन्त श्रवणमा गाएर सुनाइने श्लोकहरू ‘गीतगोविन्द’ नामक ग्रन्थबाट लिइएको हो । गीतगोविन्दलाई १२ औँ शताब्दीमा कवि जयदेव गोस्वामीले रचना गरेका थिए । मध्यकालीन वैष्णव सम्प्रदायसँग जोडिएको यस गीतमा भगवान् कृष्ण र राधाको कथालाई धार्मिक भावना र शृङ्गारिकताको संयोजनमार्फत् प्रस्तुत गरिएको छ ।
गीतगोविन्द गीतिकाव्यमा १२ वटा अध्याय (सर्ग वा खण्ड)हरू छन्, जसलाई २४ वटा गीतमा विभाजन गरिएको छ । प्रत्येक गीतमा आठवटा श्लोकहरू छन् र यसलाई अष्टपदी भनिन्छ ।
वसन्त श्रवणमा गाइने श्लोकहरू गीतगोविन्दको पहिलो अध्याय सामोद दामोदरः खण्डबाट लिइएको छ । मुख्यतः यस अध्यायको तेस्रो गीत माधवोत्सव कमलाकरम् नामक अष्टपदी वसन्त श्रवणको मुख्य भाग हो, तर यसबाहेक पहिलो सर्गका केही थप श्लोकहरू पनि यसमा जोडिएर आउँछन् ।
यहाँ ‘श्रीगीतगोविन्दम्’को त्रिदण्डीस्वामी श्रीश्रीमद्भक्तिवेदान्त नारायण गोस्वामी महाराजद्वारा सम्पादित ग्रन्थलाई आधार मानी गीतको शुद्ध संस्कृत श्लोक र नेपाली भाषामा अनुवाद दिइएको छ —
।। अथ श्री वसन्त राग श्रवणम् ।।
पद्मापयोधरतटीपरिरम्भलग्न काश्मीरमुद्रितमुरो मधुसूदनस्य ।
व्यक्तानुरागमिव खेलदनङ्गखेद स्वेदाम्बुपुरमनुपूरयतु प्रियं वः ।।
पद्मा (राधा)को कुम्कुमको छाप भएका जोडी स्तनलाई अङ्कमाल गर्दा श्रीकृष्णको वक्ष प्रेमासक्त भयो, जस्तो कि हृदयको अनुराग नै आफै व्यक्त हुन लागेको थियो । कामक्रीडाबाट जसको वक्ष सेता थोपाले परिप्लुत भयो, उनै मधुसूदनले हामी सबैको मनको इच्छा पूर्ण गर्नुहोस् ।
वसन्ते वासन्तीकुसुमसुकुमारैरवयवैः भ्रमन्तीं कान्तारे बहुविहितकृष्णानुसरणाम् ।
अमन्दं कन्दर्पज्वरजनितचिन्ताकुलतया बलद्बाधां राधां सरसमिदमुचे सहचरी ।।
कुनै समय वसन्त ऋतुको बेलामा विरहको वेदनाले आक्रान्त भई राधा एक ठाउँबाट अर्को ठाउँमा श्रीकृष्णलाई खोज्न लागिन्, माधवीको फूल ओइलाएझैँ उनको सुकुमार अङ्ग क्लान्त भयो । कामक्रीडाजनित चिन्ताबाट आकुल भएर उठ्दा उनकी एक सखीले अनुरागपूर्ण भावमा उनलाई भन्न लागिन् ।
ललितलवङ्गलतापरिशीलनकोमलमलयसमीरे ।
मधुकरनिकरकरम्बितकोकिलकुजितकुञ्जकुटीरे ।।
(यहाँबाट तेस्रो अष्टपदी माधवोत्सव कमलाकर सुरु हुन्छ ।) प्रिय सखि ! यो वसन्तकाल विरहीहरूका लागि अति कष्टकर छ । यो (वसन्त) आउँदा चन्दनझैँ सुगन्धित हावाले सुकोमल लताहरूलाई आलिङ्गत गरेको कति शोभायुक्त छ । कुञ्ज–कुटीमा भ्रमराहरू भुलिरहेको र कोइलीको सुमधुर स्वर सबैतिर गुञ्जायमान छ ।
विहरति हरिरिह सरसवसन्ते नृत्यति युवतीजनेन समं सखिविरहिजनस्य दुरन्ते ।। ध्रुवपदम् ।।
(यस अष्टपदीका अन्य श्लोकहरू सकेपछि पुनः यो ध्रुवपद ‘विहरति हरिरिह ...’ गाइन्छ ।) हेर ! श्रीकृष्ण यहाँ कुञ्ज–कुटीमा भाग्यवती युवतीहरूसँग प्रेमोत्सवमा मग्न हुँदै विहार गरी नाचिरहनुभएको छ ।
उन्मदमदनमनोरथपथिकवधूजनजनितविलापे ।
अलिकुलसंकुलकुसुमसमूहनिराकुलबकुलकलापे ।। विहरति ।।
प्रवास गएका पतिको विरहमा पत्नीहरू विलाप मात्र गर्छन् । हेर सखी ! यस वसन्त ऋतुमा पारिजातका वृक्षमा फूल ढकमक्क हुन्छ, मौलसिरी फूल प्रफुल्लित हुन्छ र यसमा असङ्ख्य भ्रमराहरू रुमल्लिन्छन् ।
मृगमदसौरभरभसवशंवदनवदलमालतमाले ।
युवजनहृदयविदारणमनसिजनखरुचिकिंशुकजाले ।। विहरति ।।
तेजपातको वृक्ष नयाँ पत्रहरूबाट विभूषित हुन्छन्, जस्तो कस्तूरी आफ्नो सुगन्ध चारैतर्फ सुँघेर आमोदित हुन्छ । हेर सखी ! पलाँसको फूलको शोभा पनि कामदेवको नङसमान देखिन्छ । यस्तो लाग्छ, मानौँ मदनराजले युवायुवतीहरूको हृदय चिरेको छ ।
मदनमहीपतिकनकदण्डरुचिकेसरकुसुमविकासे ।
मिलितशिलीमुखपाटलिपटलकृतस्मरतूणविलासे ।। विहरति ।।
वनमा विकसित फूलको समूह हेर्दा यस्तो भान हुन्छ, जस्तो मदनराजको डाँठ दण्डजस्तो हो र भ्रमराहरू विचरण गरिरहेको नागकेशर फूलहरू मानौँ कामदेवका वाणका तूणीर हुन् ।
विगलितलज्जितजगदवलोकनतरुणकरुणकृतहासे ।
विरहिनिकृन्तनकुन्तमुखाकृतिकेतकीदन्तुरिताशे ।। विहरति ।।
हे सखी ! वसन्तको उन्मादले मानौँ सम्पूर्ण जगत निर्लज्ज भएको छ । यो देखेर सबै तरुण वृक्षहरू प्रफुल्लित फूलहरूसहित हाँसिरहेका छन् । हेर ! विरहीको हृदयलाई तीखो वाणले समान छेदन गर्न कतेकीको फूल पनि चारैतिर प्रफुल्लित भई फुलिरहेको छ । यिनको संयोगले दिशाहरू पनि प्रशन्न छन् ।
माधविकापरिमलललिते नवमालिकजातिसुगन्धौ ।
मुनिमनसामपि मोहनकारिणि तरुणाकारणबन्धौ ।। विहरति ।।
यो वसन्तको महिनाका फूलहरू अति नै ललित एवं मनोहर भइरहेका छन् र चमेलीका फूलहरूका कारण सुगन्धित भइरहेका छन् । यस्तो कालमा त ऋषिमुनिहरूका मनमा समेत विकार उत्पन्न हुन सक्छ, उनीहरू मुग्ध हुन सक्छन् । यो वसन्त ऋतु त्यसै अकारण नै युवावर्गको प्रिय हो ।
स्फुरदतिमुक्तलतापरिरम्भणमुकुलितपुलकितचूते ।
वृन्दावनविपिने परिसरपरिगतयमुनाजलपूते ।। विहरति ।।
हे सखी ! माधवीको आलिंगनयुक्त लताले बेरिएको छ तथा आँपको रूखमा नयाँ कोपिला पलाउँदै छ । वृन्दावनको नजिकै यमुना नदीको पावन जल प्रवाहमान छ । त्यहाँ श्रीहरि गोपिनीहरूसँग परस्पर मिली विहार गर्दै नाँच्दै हुनुहुन्छ ।
श्रीजयदेवभणितमिदमुदयति हरिचरणस्मृतिसारम् ।
सरसवसन्तसमयवनवर्णनमनुगतमदनविकारम् ।। विहरति ।।
श्रीकृष्णसँगको विरहबाट उठेको राधाको उत्कण्ठायुक्त यो वसन्त समयको चित्रणरूप यस सरस मङ्गलगीतमा श्रीजयदेव कविले उत्कृष्ट रूपमा बयान गरेका छन् । यो वसन्तकालको कामविकारयुक्त छ, जसले श्रीहरिकै चरणकमलको स्मरण गराउँछ । (तेस्रो अष्टपदी यहाँ समाप्त हुन्छ ।)
दरविदलितमल्लीवल्लिचञ्चत्परागप्रकटितपटवासैर्वासयन् काननानि ।
इह हि दहति चेतः केतकीगन्धबन्धुः प्रसरदसमवाणप्राणवद्गन्धवाहः ।।
हे सखी ! हेर, भर्खरै पलाउन थालेका फूलका सेता परागले सारा वन नै सेतो वस्त्रले ढाकेको झैँ भएको छ । केतकी फूलको सुगन्धले सुगन्धित पवन आफै आनन्दित भएको छ । यो पवन कामदेवको वाणसमान उससँगै विरहीजनको हृदयलाई भेदन गरिरहेको छ ।
उन्मीलम्मधुगन्धलुब्धमधूपव्याधूतचूताङ्कुर क्रीडत्कोकिलकाकलीकलकलैरुद्गीर्णकर्णज्वराः ।
नीयन्ते पथिकैः कथं कथमपि ध्यानानुधानावधानक्षण प्राप्तप्राणसमासमागमरसोल्लासैरमी वासराः ।।
हे सखी ! हेर, आँपका कोपिला खुलेर मधुर सुगन्धमा लठ्ठ भ्रमर मञ्जरीमा क्रीडा गर्दा कोइली मीठोसँग कुहुकुहु गर्दै गाइरहेको छ । यस कोलाहलले विरहीहरूका कानमा पीडा दिइरहेको छ । वसन्त ऋतुका दिनहरूमा विरहमा भएकाहरू बिछोडको अति नै कठिन वेदनाका कारण प्रेमीको चिन्तन गर्न थाल्छन् । तब उनीहरूको ध्यानमा एकैछिनको मिलनको आनन्दले आप्लावित भई क्षणिक सुखभोग गर्दै कष्टपूर्ण समय बिताउँछन् ।
अनेकनारीपरिरम्भसम्भ्रमस्फुरम्मनोहारिविलासलालसम् ।
मुरारिमारादुपदर्शयन्त्यसौ सखी समक्षं पुनराह राधिकाम् ।।
यसरी राधिकाकी सखीले निकै चतुरताका साथ श्रीकृष्णको खोजी गरिन् । उनले देखिन् कि श्रीकृष्ण गोपिनीहरूका साथ रासलीलामा मग्न भइरहेका छन् । गोपिनीहरूले आलिंगनको उत्सुकता देखाउँदा श्रीकृष्णको मनमा पनि विलासको लालसा उठिरहेको सखीले टाढैबाट राधाजीलाई देखाइन् ।
।। इति श्रीगीतगोविन्दे वसन्तरागः ।।
तस्बिर साैजन्य - हनुमानढोका दरबार संग्रहालयको फेसबुक पेज
Categorized in संस्कृति