arin enterprises

नगर प्रहरीका लागि आधारभूत तालिम सुरु

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० चैत्र १९, सोमबार

काठमाडौं महानगरपालिका (कामपा) मा नगर प्रहरी जवानका लागि आधारभूत तालिम आजबाट सुरु गरिएको भएको छ ।

तालिमको शुभारम्भ गर्दै कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।

‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ । तालिमबाट यसप्रकारको ज्ञान र व्यवहार परिवर्तन सिप प्रदान गरिनेछ’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने ।

प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाअनुसार करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो । यस समूहमा ४४ जना छन् ।

तालिममा नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने बताइएको छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार १० दिने सैद्धान्तिक तालिम हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछ भने तालिम पछि नगर प्रहरीहरुलाई नियमित ड्युटीमा खटाइनेछ ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिइनेछ ।

१० दिने तालिम पछि परीक्षा लिएर प्रमाण पत्र प्रदान गरिने कामपाले जनाएको छ ।

Categorized in स्थानीय