arin enterprises

बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक घाइते

SamacharDesk | २०८० आश्विन २५, बिहिबार

काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा आज दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरूको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ ।

तीन वटा मोटर साइकल चढेर आएका लुटेरा समूहलाई पिछा गर्दै गएको प्रहरीले जगडोलमा पुग्दा लुटेरा समूहले प्रहरीलाई पेस्तोल ताकेपछि गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको गोली घाइते घनालको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेका उनलाई उपचारका लागि जोरपाटीस्थित एनएमसी अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले जनाएको छ ।

Categorized in अपराध