सवारी दुर्घटनामा परी बिक र गुरुङको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ९, मंगलबार

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बर्दगोरीया गाउँपालिका–५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खडमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा बिकको मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्को एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी नवलपरासी पूर्वमा सोमवार राति भएको दुर्घटनामा एक पैदलयात्री पुरुषको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश.३–०३–००१ प ६०३४ नम्बरको स्कुटरले ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको हो ।
दुर्घटनामा बाटोमा हिँड्दै गरेका पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरूङको मृत्यु भएको हो ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा गुरुङको मृत्यु भएको हो ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज