arin enterprises

ट्रेजिडी किङ्ग दिलीप कुमारको निधन

SamacharDesk – बिराज | २०७८ आषाढ २३, बुधबार

भारतीय चलचित्र क्षेत्रमा ट्रेजिडि किङ्ग नामले प्रशिद्ध वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ ।

९८ वर्षीय दिलीप कुमारको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको फोक्सोमा पानी भरिएको चिकित्सकहरुले बताएका छन् ।

उनको जन्म पाकिस्तानको पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा भएको थियो । उनलाई परिवारले दिएको नाम भने मोहम्मद युसुफ खान थियो ।

उनले सन् १९४४ मा चलचित्र ‘ज्वारभाटा’ बाट आफ्नो फिल्मी करिअरको शुरुवात गरेका थिए भने ‘जुगनु’ उनको पहिलो हिट फिल्म हो ।

सन् १९६० मा रिलिज भएको दिलीप कुमारको चलचित्र ‘मुगल–ए–आजम’ त्यो बेलाको सबैभन्दा बढि लगानीको साथमा बढि कमाएको चलचित्र थियो ।

पाँच दशकको चलचित्र यात्रामा उनले थोरै फिल्म खेले । तर भारतीय चलचित्र क्षेत्रका उनको प्राय फिल्महरुलाई र उनको अभिनयलाई उदाहरणीय नै मानिन्छ ।

सबैभन्दा बढि अवार्ड जित्ने अभिनेताको रुपमा दिलीप कुमारको नाम गिनीज वर्ल्ड रेकर्डमा दर्ता छ ।

उनी सन् १९९१ मा पद्मभूषण, १९९४ मा दादा साहेब फाल्के अवार्ड, २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका छन् । त्यस्तै सन् १९९८ मा पाकिस्तानको सर्वश्रेष्ठ नागरिक सम्मान निशान–ए–इम्तियाजबाट पनि सम्मानित भएका छन् ।

उनको पहिलो विवाह सन् १९८१ मा आश्मा रहमानसँग भएको थियो । आश्मा रहमानसँग छुटेपछि सन् १९६६ मा उनले अभिनेत्री सायरा बानुसँग विवाह गरेका थिए ।

गत वर्ष मात्रै उनका भाईहरु असलम खान र एहसान खानको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

Categorized in पेजथ्री