बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण
SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

संसारभरी लाखौंको संख्यामा कोरोनाभाइरस (कोभिड १९) संक्रमित भएका छन् । तीमध्ये थुप्रै मन्त्री, नेताको साथमा कलाकार, खेलाडी आदि पनि संक्रमित भएका छन् ।
भारतका वरिष्ठ कलाकार किरणकुमार पनि कोभिड १९ बाट संक्रमित भएका छन् ।
अन्य कुनै रोगको चेकअपमा अस्पताल पुगेका किरण कुमारमा परिक्षणको क्रममा कोभिड १९ संक्रमण देखिएको हो ।
उनमा कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ । अस्पताल पुग्दा कोरोनाको परिक्षण पनि अनिवार्य भएकोले कोरोना जाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
७४ बर्षिय बलिउड कलाकार किरण कुमार यतिबेला आफ्नै घरको क्वारेन्टाइनमा छन् ।
आफु घरको तेश्रो तल्लामा र परिवार घरको दोश्रो तल्लामा बस्दै आएको उनले बताए ।
कोरोना पोजिटिभ देखिएको १० दिन भैसक्दा पनि आफूमा कुनै लक्षण नदेखिएको किरण कुमारले बताए ।
विशेष गरी खलपात्रका रुपमा बलिउडमा परिचित किरणकुमारले ‘धडकन, मुझसे दोस्ती करोगे, तेजाब, मेरी विवीका जवाब नहिँ, अग्निपंख, आप मुझे अच्छे लग्ने लगे’ जस्ता चलचित्रमा काम गरेका छन् ।
यो भन्दा अगाडि बलिउड गायिका कनिका कपूर पनि कोरोना संक्रमणको शिकार भएकी थिइन् ।
भारतमा अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार २ सय ३७ जनालाई संक्रमण भएको छ ।
त्यसैगरी, ५७ हजार ७ सय ४५ जना निको भएका छन् ।
Categorized in पेजथ्री