arin enterprises

समालोचक अपर्णा प्रधान चार वटा पुस्तक विमोचन

SamacharDesk | २०७९ भाद्र १०, शुक्रबार

ललितपुरको लुभुमा चार वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ ।

चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका पुस्तकलाई विमोचन गरेको हो । समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको यान्त्रिकपुर, ल्वहं द्यः, पुनर्जन्म र प्रतिविम्व नामक पुस्तक विमोचन गरिएको छ ।

विमोचित पुस्तकहरुमा लघु कथा संग्रह, आत्मवृत्तान्त र समालोचना संग्रह छन् । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठले लुभु क्षेत्रमा पुस्तक विमोचन गरी साहित्यमा श्रीवृद्धि गर्ने अवसर दिनुभएकोमा कुतः पिकाक र समालोचक अपर्णा प्रधानप्रति आभार व्यक्त गरे ।

भाषा, साहित्य, लिपि तथा संगीतले निश्चित ठाउँको समृद्धि हासिल हुने जनाउँदै महालक्ष्मी नगरपालिकाले यस्ता काममा सहकार्य गर्ने आश्वासन समेत दिए । लघु कथा संग्रहमा टप्पणी गर्दै नेपालभाषा एकेडमीका महासचिव डा। पुष्पराज राजकर्णिकारले साहित्यिक कार्यक्रमको महत्त्व र त्यसले अभिव्यक्त गर्ने दूरगामी प्रभावको विषयमा विचार पोखे ।

‘अहिले हाम्रा छोरा नाती पढेर सक्षम भइसकेपछि विदेश पलायन हुने क्रम बढेको छ । यो क्रम नरोक्ने हो भने नेपाललाई एक ढंगको बृद्धाश्रम जस्तै बनाउनेछ । यो सबभन्दा चिन्ताको विषय हो ।’ डा. राजकर्णिकारको भनाइ थियो ।

यान्त्रिकपुर पुस्तकभित्रको लघु कथामा लेखकले बहुत मार्मिक ढंगले नयाँ पुस्ता विदेशिने क्रम बढेको विषय उत्थान गरेकोप्रति धन्यवाद दिँदै यसलाई सरोकारवाला पक्षले बेलैमा ध्यान दिन आग्रह समेत गरे ।

डा. राजकर्णिकारले मातृभाषाको अवसर, प्रयोग र कार्यक्षेत्र संकुचन भएकोमा चासो व्यक्त गर्दै यसप्रति पनि ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा तिलक प्रकाश कायस्थ, कृष्णभक्त बोडे, विष्णु केशरी ताम्राकार, पूर्ण ताम्राकार, ई. रामबहादुर श्रेष्ठ, विमल ताम्राकार लगायतको सहभागिता थियो ।

समालोचक प्रधानले साहित्यका विभिन्न विधामा कमल चलाउँदै अहिलेसम्म २९ वटा पुस्तक प्रकाशन गरेकी छन् ।

Categorized in पेजथ्री