arin enterprises

अन्तरीक्षमा भेटियो सबैभन्दा चम्किलो ब्ल्याक होल

SamacharDesk | २०८० फाल्गुण ११, शुक्रबार

खगोल विदहरुले ब्रह्माण्डमा हालसम्मकै सबैभन्दा चम्किलो ब्ल्याक होल पत्ता लगाएका छन् । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्ने भएकोले यो ब्रह्माण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको हो ।

खगोल विदहरुका अनुसार यसले  प्रत्येक दिन एउटा सूर्य वरावरको उर्जा निल्दै तीव्र गतिमा फैलिरहेको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए ।

ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए । यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ ।

एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ ।

सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा आइपुग्न १२० करोड वर्षमा लाग्छ । ब्रह्माण्डमा धेरै ब्ल्याक होल छन् तर तिनीहरुले कम पदार्थलाई मात्र निली र बाहिर निकाल्छने भएकोले कम चमकदार हुन्छन् ।

तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।

यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा र तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ ।

यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ । क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो र भयानक छ ।

शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रह्माण्ड किशोरावस्थामा भएकाले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् । 

Categorized in विज्ञान-प्रविधी