रातो मच्छिन्द्रनाथको रथ मंगलबजार पुग्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २२, बिहिबार

नेपालकै सबैभन्दा लामो ललितपुरको करुणामय अर्थात रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा आज रथलाई तानेर मंगलबजार पुर्याइएको छ । हिजो पुल्चोकबाट तानेर गाःबहाल पुर्याइएको रथलाई आज भने मंगलबजार पुर्याइएको हो ।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा बुधबारबाट शुरु भएको हो ।
कोरोना महामारीका कारण गएको दुई वर्ष औपचारिकतामा सिमित हुँदै जात्रा सम्पन्न गरिएको थियो भने यस वर्ष धुमधामका साथ जात्रा मनाइएको छ । ललितपुरवासी साथै संस्कृति प्रेमीहरुले दुई वर्ष जात्रा मनाउन नपाइएको छटपटी भने यस वर्ष धुमधामका साथ जात्रा मनाउँदै पोखेका छन् ।
जात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाःबहालमा पु¥याइन्छ । जात्राको पहिलो दिन रथ गाःबहाल पुगेपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । यसलाई स्थानीय भाषामा गाःबहाः याः भन्ने गरिन्छ ।
तःबहालबाट मीननाथ (जटाधारी लोकेश्वर) को रथ गाःबहाल ललितपुर महानगरपालिका भवन अगाडी पु¥याइएपछि मच्छिन्द्रनाथको रथ तान्न शुरु गरिन्छ । पछि मच्छिन्द्रनाथको रथ पुल्चोकमा गाःबहाल मोडमा पुगेपछि दुवै रथहरु सँगसँगै तान्ने परम्परा छ । अघि अघि मच्छिन्द्रनाथ पछि पछि मीननाथको रथ ।
मच्छिन्द्रनाथको रथ पूल्चोकमा दमकल अगाडी निर्माण हुन्छ भने मीननाथको रथ टंगलमा बनाइन्छ । रातो मच्छिन्द्रनाथसँगै जटाधारी लोकेश्वरको पनि रथयात्रा गरिनुपर्ने कारणबारे समाजमा एउटा किम्वदन्ति प्रचलित छ ।
किम्वदन्तीअनुसार परापूर्वकालमा ललितपुरमा अलग अलग देवीदेवताको १२ वटा रथजात्राहरु हुने गर्दथ्यो । १२ वटा रथयात्रा भनेपछि १२ वटै अलग अलग रथ बनाउनुपर्ने स्वाभाविक नै भयो ।
नेपालमा मच्छिन्द्रनाथको आगमन भइसकेपछि ती सबै देवीदेवतालाई मच्छिन्द्रनाथमै समाहित गरी मच्छिन्द्रनाथकै एउटा मात्र रथजात्रा गर्ने कुरा भएछ ।
अरु सबै देउता मच्छिन्द्रनाथमै समाहित हुन माने, तर आफ्नो जात्रा मच्छिन्द्रनाथको भन्दा पुरानो भएकोले मीननाथले भने मानेनछन् । त्यसैले मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथको जात्रा गर्ने गरिएको हो ।
अक्षय तृतियाको दुई दिन अघि मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने गरिन्छ भने अक्षय तृतीयाको भोलिपल्टबाट रथ तान्दै लतिलपुरमा जात्रा शुरु गरिन्छ ।
सो क्रममा पहिलो दिनमा रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्याउने गरिन्छ । त्यसपछि क्रमशः मंगलबजार, सुन्धारा, चक्रबहिल, लगनखेल, इतिटोल हुँदै जावलाखेलमा पुगेर भोटो जात्रा गरेपछि जात्रा सम्पन्न हुने गर्दछ । आज मंगलबजार पुगेको रथलाई भोलि सुन्धारा पुर्याइन्छ । यसलाई नुगःयाः भनिन्छ ।
Categorized in संस्कृति