arin enterprises

केवलकार आपतकालीन उद्धार अभ्यास

SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

केवलकारमा समस्या आएर बीचमै रोकिंदा गरिने उद्धारको अभ्यास मंगलबार सशस्त्र प्रहरीले सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा आपतकालीन उद्धार अभ्यास–२०८० सम्पन्न गरेको हो ।

पशुपतिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा केवलकारमा समस्या आई विचमा रोकिएर आपतमा परेका यात्रुहरुको सुरक्षित उद्धारमा  परिचालन हुनको लागि पूर्वतयारी अनुरुप आपतकालीन उद्धार अभ्यास गरिएको हो ।

नायव महानिरीक्षक पुरुषोत्तम थापाले जुनसुकै प्राकृतिक तथा यान्त्रिक खरावीका कारण केवलकार  विच बाटोमै रोकिन गयो भने रोकिएका यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न अभ्यास प्रभावकारी एवं महत्वपूर्ण हुने बताउनुभयो ।

चन्द्रागिरी हिल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्व तयारीको यस्ता अभ्यासले जोखिममा परेका यात्रुहरुको हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपाल गणहरुका गणपति तथा गुल्मपतिहरु, नेपाल प्रहरीका अधिकृत, चन्द्रागिरी हिल्स लिमिटेडका कर्मचारी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Categorized in समाज