'प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै सिसिटिभि'
SamacharDesk – बिराज | २०८० फाल्गुण ६, आइतबार

गत भदौ २९ गते राति काठमाडौं तिनकुनेस्थित दिव्य सःमिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो ।
यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क्रममा एकजना पीडितको साथमा रहेको १ लाख ३० हजार रूपैयाँ भएको झोला खसेर हराएको जानकारी प्राप्त भयो ।
सिसिटिभि मनिटरिङबाट उक्त झोला बा.६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखी चालकसँगको समन्वयमा उक्त नगद पीडितलाई बुझाउन प्रहरी सफल भयो ।
यी त केही प्रतिनिधि घटनाहरु हुन् । यसरी हुने दैनिक घटनाहरूको निगरानी र घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने गर्दछ ।
सिसिटिभि माेनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि हुन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण र दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारवाही गर्न सिसिटिभि प्रभावकारी माध्यम भएको बताउँछन् ।
‘यसले चोरी डकैती लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मद्दत गर्छ । त्यसैले प्रहरी संगठनले सिसिटिभि प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ’ प्रहरी नायव महानिरिक्षक ढकालको भनाई हो ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा देशभर एक हजार २९५ वटा थप सिसिटिभी जडान भएका छन् ।
तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २६१ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३९० वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७० वटा र बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १२६ वटा जडान भए ।
त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६२ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १०३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९४ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८९ वटा सिसिटीभि क्यामेरा जडान भएका छन् ।
हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सिसिटिभि १३ हजार ६७५ वटा रहेका छन् ।
तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३ हजार ९९३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत २ हजार ४५८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ५३२ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ३६८ वटा छन् ।
त्यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ६५१ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ४१० वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४४८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८१५ वटा छन् ।
‘सूचना तथा प्रविधिको प्रणालीलाई प्रभावकारी बनाई सोको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सिसिटिभी क्यामेराको भूमिका महत्वपूर्ण छ । क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन’ प्रवक्ता ढकाल भन्छन् ।
चालु आर्थिक वर्षको पुससम्म ६ महिनाको अवधिमा उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, सामान छुटेको/हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल १,२९७ फुटेज माग भएकोमा ५८१ फुटेजहरू उपलब्ध गराइएको छ ।
सोही फुटेजहरुको आधारमा ४०९ वटा घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ ।
सो अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी फरार १४ हजार ६३३ जना र ट्राफिक सपोर्ट कारबाही २५ हजार ६३६ जना गरी ४० हजार २६९ जनालाई सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन सफल भएको नेपाल प्रहरीले बताएको छ ।
सिसिटिभि मोनिटरिङका सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी संचार तथा सिसिटिभि शाखाका प्रमुख प्रहरी उपरीक्षक दामोदर कँडेल आधुनिक प्रविधिको प्रयोग गर्दै चौबिसै घण्टा सिसिटिभिको माध्यमले मोनिटरिङ गरी परिणाममुखी एवं प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागीरहेका दावी गर्छन् ।
Categorized in राष्ट्रिय