युट्युबमा चाण्डालिका
SamacharDesk – Bijay Ratna | २०७८ बैशाख १८, शनिबार
बुद्धकालिन कथामा आधारित भएर निर्माण भएको नेपालभाषाको चलचित्र चाण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण भएर च्यारिटी प्रदर्शनमा आएको २१ बर्षपछि युट्युबमार्फत चलचित्र चण्डालिका रिलिज भएको हो।
अङ्ग्रेजी सबटाईट्लसहित नेपालभाषामा चलचित्र चाण्डालिका रिलिज भएको छ।
चलचित्र निर्माण भएको २३ बर्ष भएतापनि विविध कारणले फिल्म हलमा च्यारिटी बाहेक सार्वजनिक प्रदर्शनमा नआएको चलचित्र चाण्डालिका २१ बर्षपछि विश्वव्यापी रिलिज हुँदा यस चलचित्रका निर्देशक मनिष कुमार श्रेष्ठ र चाण्डालिकाका सहायक पटकथाकार एवम् कलाकार सनम कुमार बैराग सबैभन्दा खुशी भएका छन् ।
निर्देशक मनिष कुमार श्रेष्ठ त चलचित्र चण्डालिका नयाँ बर्ष २०७८ सालको अवसरमा विश्वव्यापी रिलिज हुँदा २१ बर्षपछि हराएको सन्तान भेटिएको जस्तै खुशी पाएको अनुभव व्यक्त गरेका छन्।
सहायक पटकथाकार बैराग पनि बौद्धकालिन कथामा आधारित चलचित्र चण्डालिका युगान्तकारी चलचित्र नै भएको वताउँछन् ।
बौद्ध चलचित्र निर्माण समितिले निर्माण गरेको यस चलचित्रको कथाकार धर्मरत्न शाक्य त्रिशुली हुन् । पटकथा–संवाद अनि निर्देशन मनिष कुमार श्रेष्ठ रहेको छ। सहायक पटकथा लेखन सनम कुमार बैरागको रहेको छ ।
धादिङको गजुरी, पोखरा, पाटन वरपरका रमणीय बस्तीहरुमा चलचित्र चण्डालिकाको छायाँकन भएको थियो ।
चण्डालिकामा लिडिङ रोल हिसिला महर्जन, स्वयम्भुरत्न शाक्य तथा मनिष कुमार श्रेष्ठको रहेको छ ।
साथमा नारायण देवी प्रधान, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल्पसा डंगोल, पवन जोशी, सनम कुमार बैराग, रेखा अधिकारी, रोशन श्रेष्ठ, राजु याकचा, क्षितिज उपाध्याय, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, भारती श्रेष्ठ लगायतको अभिनय रहेको छ।
Categorized in पेजथ्री