arin enterprises

चकंद्यःको जात्रा आज सुरु हुँदै

SamacharDesk – बिराज | २०८० चैत्र १२, सोमबार

काठमाडौंको ठमेलमा श्री गरुड भगवान भनिने चकंद्यःको जात्रा आजबाट शुरु हुँदैछ ।

सिंहसार्थबाहु समेत भनिने चकंद्यःको जात्राको क्रममा आज भगवानलाई ठमेलस्थित विक्रमशील महाविहार, भगवानबहालको गर्भगृहबाट ल्याइ तुंचोकस्थित डबलीमा विराजमान गराउने कार्यक्रम रहेको छ ।

श्री सिँहसार्थबाहु भगवान गुठी तहबिल कार्यालयका अनुसार आज २ बजे भगवानलाई डबलीमा विराजमान गराइनेछ । भोलि ४ बजे भगवानलाई तुंचोकस्थित डबलीबाट प्रस्थान गराई पुर्वतर्फको चोकमा विराजमान गराइनेछ ।

भोलि नै भगवानलाई नगर परिक्रमा गराउने कार्यक्रम पनि रहेको छ । भोलि साँझ ५ बजेबाट भगवानलाई नगर परिक्रमा गराउने कार्यक्रम सुरु हुनेछ ।

नगर परिक्रमा पछि भगवानलाई मूलचोकमा विराजमान गराइनेछ भने पर्छि चैत्र १४ गते भगवानलाई गर्भगृह प्रवेश गराउने कार्यक्रम रहेको छ ।

परापूर्वकालमा परदेशमा व्यापार गर्न जाने व्यापारीहरुको समूहको नाइके अथवा प्रमुखलाई सिंहसार्थबाहु भन्ने गरिन्थ्याे । श्री गरुड भगवान भनिने चकंद्यः पनि परापूर्वकालमा तिब्बत व्यापार गर्न गएको समूहको नाइके थिए भन्ने गरिएको छ ।

व्यापारकै क्रममा तिब्बत गएको समूह राक्षसनीहरुको जालमा परेको र उताबाट सिंहसार्थबाहु एक्लै बचेर नेपाल फर्कन सफल भएको किम्वदन्ति श्री गरुड भगवान र यस जात्रासँग जोडिएको छ ।

किम्वदन्ति अनुसार सिंहसार्थबाहुसँग एक जना राक्षसनी नेपाल पुगेको र उसले फेरी आफ्ना साथीहरुलाई बोलाई यहाँका मान्छेहरु खान थालेपछि सिंहसार्थबाहुले ती सबै राक्षसनीहरुको संहार गरेर लोकको रक्षा गरेका थिए ।

त्यसपछि नगरबासीहरुले सिंहसार्थबाहुलाई बोकेर सिन्दुर जात्रा गर्दै नगर परिक्रमा गरेको बताइन्छ । त्यहि सिन्दुर जात्रा आजसम्म पनि चकंद्यःको जात्राको रुपमा निरन्तर चल्दै आएको जनविश्वास रहेको छ ।

श्रीगरुड भगवानलाई स्थानीय समाजमा चकंद्यः, सिंहसार्थबाहु, तानांद्यः आदि नामले पनि चिन्ने गरिन्छ ।

श्रीगरुड भगवानको नित्य पूजाको लागि विक्रमशील महाविहारको अगाडी रहेको कमलपोखरीबाट चोखो पानी लिनुपर्ने र त्यहि पोखरीको कमलको फुल चढाउनुपर्ने बताइएको छ ।

हाल छायाँ सेन्टर रहेको स्थानमै कमलपोखरी भएको र ऐतिहासिक, धार्मिक महत्वको कमलपोखरी मासेर नै छायाँ सेन्टर बनाएको भनिएको छ । हाल यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

साथमा चकंद्यःलाई विराजमान गराउनुपर्ने पुर्वपट्टिको डबली पनि हाल व्यक्तिको नाममा गइरहेको बताइएको छ ।

श्रीगरुड भगवान र विक्रमशील महाविहारको संस्कृति र इतिहाससँग जोडिएको स्थान व्यक्तिको नाममा जाँदा स्थानीय संस्कृति र सम्पदाकै अस्तित्व संकटमा परेको भन्दै संस्कृति प्रेमी र अभियानकर्मीहरु भने चिन्तामा परेका छन् ।

Categorized in संस्कृति