arin enterprises

क्षमापूजा मात्रै गरेर सम्पन्न भयो चण्डेश्वरी जात्रा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

आज वैसाख पुर्णिमा, आजको दिनलाई बुद्ध जयन्तीको रुपमापनि मनाइन्छ भने बनेपामा चण्डेश्वरी जात्रापनिहुने गर्दछ ।

आजको दिनमा बनेपाका नेवार समुदायले बाजागाजा सहित धुमधामका साथ चण्डेश्वरी जात्रा मनाउने गर्छन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्राहुने गरेको विश्वास गरिन्छ ।

यो जात्रा सत्ययूगदेखि नै हुँदै आएको वंशावलिमा उल्लेख छ । देवीले दैत्यको वध गरेपछि देवलोकमा बाजागाजा सहित हर्षोल्लास पूर्वक देवीको जात्रा मनाएको र त्यहि जात्रा आजसम्म बनेपामा निरन्तर चलि आएको धार्मिक विश्वास रहेको छ ।

विगतका वर्षहरुमा यो जात्रा धुमधामका साथ हुने गरेतापनि यो वर्ष कोरोना महामारीको अवस्थामा स्थगित भएको छ । यो वर्ष क्षमापूजा गरेर देवीको साधारण पूजामात्रै गरेर जात्रा सम्पन्न गरिएको छ ।

जात्रामा के के हुन्छ ?

जात्राको पहिलो दिन बनेपाको तीनधारामा देवीलाई राखेर बोकिने खट निर्माण गरिन्छ । जात्रा सुरु भएपछि बजारका दायाँबायाँका घरको झ्यालबाट पूजागर्ने, चतांमरि चढाउने चलनरहेको छ ।

पूर्णिमाको दिनमा बिहानैदेखि चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ । यो दिनमा बलेको मसाल लिएर बनेपाको लायकूबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ । जात्रामा मसाल पूजालाई मतपूजा नामले चिनिन्छ । यसलाई जात्राको शुरुवातको रुपमा लिइन्छ । यो दिनमा सन्तान नभएका वा गर्भपतन भएका महिलाहरुले स्नान गरेमा सन्तान हुने जनविश्वास समेत गरिन्छ ।

खट जात्राविशेष गरी दुई दिनहुने गर्दछ । एक दिन रथ लैजाने र अर्को दिनमा फर्काउने गरिएको छ ।

बनेपाको लायकुबाट सुरु भएको रथ चण्डेश्वरीसम्म पुर्‍याईन्छ । जाँदा रित्तो गएको खटमा राती चण्डश्वरीको मूर्ति प्रतिस्थापन गरेर भोलिपल्ट देवीसहित खटजात्रा हुन्छ । दोस्रो दिन बनेपाको घोगेचौरको उकालोमा नबिसाई रथलाई बोक्नुपर्ने हुन्छ । यो बेलामा बनेपा लगायत अन्य जिल्लाबाट समेत दर्शनार्थीको भीड नै हुने गर्दछ ।

घोकेचौरबाट ओरालो लागेर भैरबकुण्डमा पुगी देवीलाई स्नान गराइन्छ । खट बनेपा बजार भित्रिएपछि द्वारे मार्फत लसकुस पूजा गरिन्छ । त्यस बेलासम्म देवीको अनुहार ढकनीले छोपेको हुन्छ ।

यस ठाँउमा पुगेपछि भोछिभोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ खटजात्रा गरिन्छ ।

जात्रामा कङ्पुगबाजा, शाहीबाजा विधि बाजाका रुपमा र सनहीबाजा र धिमे बाजाबजाई हर्षोउल्लासले खट बोक्दै रमाउँदै हिँड्छन् ।

रथ बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थको साथमा मद्यपान समेत गराउने चलन छ ।

पूर्णिमाको अघिल्लो रातमाभने चण्डेश्वरी मन्दिरमा १२ वटा कालो निखुर बोकाको बलि पूजा गरिन्छ । त्यसै दिन बोकाको मासु बनेपाको ‘न्हयकंचपा’भन्ने स्थान माकलन दान गर्ने भन्दै मासु छरिन्छ । छरिएको मासु भेटाउनेको मनोकामना पूरा हुने विश्वास रहेको छ ।

यसपछि देवतालाई काँधमा बोकी चण्डेश्वरी फर्काइन्छ र जात्रा विधिवत रुपमा सम्पन्न हुने गर्दछ । नेवाः समुदायले जात्रा सम्पन्न भएपछि नखत्या भनी छोरीबेटीलाई बोलाई भोज खुवाउने चलन रहेको छ ।

वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लोदिन उहिलेका राजामहाराजाले प्रयोग गरेका गरगहना र सिक्काको समेत पूजाआजा गर्ने चलन छ ।

मुख्य रुपमा दुई दिनमात्र मनाइए पनि जात्राको पूजा सम्बन्ध फागु पूर्णिमादेखि नै जोडिन थालिसकेको हुन्छ ।फागु पूर्णिमाको दिन चण्डेश्वरीमा पुजारीको तर्फबाट चण्डेश्वर महादेव र चण्डेश्वरीको निम्तो पूजागर्नुपर्ने चलन छ ।

चण्डेश्वरीको मन्दिर वर्षभरीमा खुल्ने समय भनेको यहि बेलामात्र हो । जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र मन्दिर खुल्ला राखिन्छ भने पछि वर्षभरी नै मन्दिर बन्द रहन्छ ।

चण्डेश्वरीदेवीलाई बनेपालीको आराध्यदेवको रुपमा लिइन्छ ।

Categorized in संस्कृति