बडादशैंको तेश्रो दिन, चन्द्रघण्टा साथै कौमारीको पूजा गरिँदै
SamacharDesk – बिराज | २०७९ आश्विन १२, बुधबार

नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज तेश्रो दिन, चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । दुर्गा पक्षमा प्रत्येक दिन फरक फरक देवीहरूकाे पूजा गर्ने क्रममा चन्द्रघण्टा स्वरुप दुर्गा भवानीको पूजा गरिँदैछ ।
चन्द्रघण्टा शव्द चन्द्र र घण्टा मिलेर बनेको छ । मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएकी देवी भएकोले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो ।
स्वर्ण समान चम्किलो शरीर भएकी, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने यी देवी सौम्य तथा शान्तिदायक छिन् । सिंह आसन भएकी चन्द्रघण्टाको शासित ग्रह शुक्र हो ।
यिनको आराधना गर्न ‘ॐ देवी चन्द्रघण्टायै नमः’ अथवा ‘ॐ ऐं ह्रिं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्रोच्चारण गरिन्छ ।
चन्द्रघण्टा भगवतीको कृपा प्राप्त भएमा दुःख, कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने र घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने धार्मिक विश्वास छ ।
त्यसैगरी कौल परम्पराका अनुयायीहरुले भने बडादशैंको तेश्रो दिनमा कौमारीको आराधना गर्ने गर्छन् ।
मयूरमा विराजमान कौमारीको दश वटा हात रहेको हुन्छ भने दशवटा हातमा विभिन्न आयुधहरु धारण गरेकी हुन्छिन् ।
कौमारीको दाहिने हातहरुमा शक्ति खड्ग, ध्वजा, दण्डपात्र, वाण हुन्छ भने एउटा हात वरद मुद्रामा रहेको हुन्छ । बायाँ हातहरुमा धनुष, घण्ट, खप्पर, कुकुट र परशु रहेको हुन्छ ।
कौमारीको चारवटा मात्र हात भएमा शक्ति खड्ग र अक्षयमाला धारण गरेकी हुन्छिन् भने अर्को दुईवटा हात बरद र अभय मुद्रामा रहेको हुन्छ । कतै भने पद्म, शुल, खड्ग शक्ति र गदा धारण गरेकी कौमारीको रुप पनि देख्न सकिन्छ ।
कौमारीलाई कुमारको शक्तिको रुपमा विश्वास गरिन्छ । कौमारीलाई दक्षिण दिशाको अधिपति मानिन्छ ।
कौमारीको आराधना गर्दा ‘ॐ हुँ कौमार्यै नमो नमः’ मन्त्रोच्चारण गर्ने गरिन्छ ।
त्यसैगरी ’ॐ सिकी ध्वजाये विदमहे, व्रज हस्ताय धीमहि, तन्नौः कौमारी प्रचोदयात’ अथवा ॐ दिव्य रूपिणी विदमहे, व्रज हस्ताये धीमहि, तन्नौः कौमारी प्रचोदयात’ भन्दै जप गर्ने गरिन्छ ।
कौमारीको पूजा आराधना गर्दा विभिन्न दुःखकष्ट नाश हुनुका साथै निसन्तानले सन्तान पाउने धार्मिक विश्वास रहेको छ ।
Categorized in संस्कृति