arin enterprises

चाँगु नारायणको कलश यात्रा सम्पन्न

SamacharDesk – बिराज | २०७९ पौष २२, शुक्रबार

चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । हरेक पौष शुक्ल पूर्णिमाको दिनमा चाँगुनारायणको कलशलाई हनुमानढोका ल्याउने परम्परा अनुसार आज कलश यात्रा गरिएको हो ।

यस वर्षको कलश यात्रामा चाँगुनारायण पूजारी आभास धरानन्द राजोपाध्यायले कलश बोकेका थिए । कलशलाई काठमाडौं तलेजु भवानीका भुजाहारी राजोपाध्याय ब्राह्मणले लसकुस गर्ने गर्दछन् । परम्परागत ढङ्गबाट भित्र्याउनुलाई स्थानीय भाषामा लसकुस यायेगु भन्ने गरिन्छ ।

कलशलाई तलेजुको मूल चोकमा लगी विधिवत् कलशार्चन पूजा गर्ने गरिन्छ । पूजा पछि राष्ट्रपति भवन शितल निवास लगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई कलशमा छायाँ दर्शन गराइएको थियो । राष्ट्र प्रमुखलाई छायाँ दर्शन गराउने चलन अनुसार कलश राष्ट्रपति भवन लग्ने गरिन्छ ।

आजै हनुमान ढोका मूलचोकमा धुनी जगाउने परम्परा पनि रहेको छ । तलेजुमा बालिएको सो धुनीको धुवाँ चाँगुनारायणवासीले देखेपछि कलश हनुमानढोका पुगेको जानकारी पाउने कथन समाजमा रहिआएको छ । 

कलश यात्रामा उपराष्ट्रपतिको उपस्थिती

आजको कलश यात्रामा उपराष्ट्रपति नन्द बहादुर पुनको समेत उपस्थिती रहेको थियो । आज कलश यात्रामा उपराष्ट्रपति पुनले कलशलाई माल्यार्पण गरी पूजा गरेका थिए ।

उपराष्ट्रपति पुनको उपस्थितीका कारण हनुमान ढोका क्षेत्रको सुरक्षा व्यवस्था भने निकै कडा बनाइएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच आम सर्वसाधारणलाई कलश यात्राको अवलोकन र दर्शनमा सास्ती खेप्नुपरेको थियो ।

विभिन्न संचारमाध्यमबाट कलश यात्राको रिपोर्टिङका लागि पुगेका पत्रकारहरुले समेत फोटो र भिडियो खिच्नलाई निकै अप्ठ्यारो महसूस गरेका थिए ।

पत्रकारद्वयबाट परम्पराको निरन्तरता

आज काठमाडौं तलेजुका भुजाहारी बिराजकाजी राजोपाध्यायले लसकुस गरेका थिए । चांगुनारायणका पूजारी साथमा तलेजुका भुजाहारी राजोपाध्यायद्वय दुबै पत्रकारिता पेशामा आवद्ध छन् ।

चांगुनारायणका पूजारी आभास आम संचारका शिक्षक पनि हुन् भने तलेजुका भुजाहारी बिराजकाजी समाचारडेस्कका सम्पादक हुन् ।

कलशलाई हनुमानढोका दरवार तलेजु मन्दिर परिसर भित्र लगिसकेर त्रिशुल चोकसँगै जोडिएको चोकमा विधिपूर्वक कलशको पूजा गरिन्छ ।

कलश यात्राको रुट

कलश यात्राको क्रममा दायाँबायाँ लक्ष्मी र सरस्वतीको कलशसँगै चाँगुनारायणको कलशलाई हनुमानढोकासम्म कलश ल्याउने गरिन्छ ।

कलश यात्राको क्रममा लक्ष्मी, सरस्वतीसँगै चाँगुनारायणको कलशलाई चाँगुनारायणको मन्दिरबाट डाँछीबाट गोकर्ण, जोरपाटी, चाबहिल, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको पाटीमा पु¥याइन्छ ।

सो पाटीमा चाँगुनारायणका मूल पूजारीले विधिवत् पूजा गरिसकेपछि गुरुजू पल्टनको बढाईँका साथ जमलबाट हनुमानढोका पु¥याइन्छ । जमलबाट असन, बालकुमारी, जनबहाल, इन्द्रचोकबाट मखन हुँदै हनुमानढोका दरवारमा पु¥याइन्छ ।

चाँगुनारायणलाई अशुभ संकेत देखाउने चलन

कलश हनुमानढोका पुग्दा त्यहाँ माटाका भाँडाकुडाहरु फुटाउने चलन रहेको छ । माटाका भाँडाहरु फुटाउनु भनेको अशुभको संकेत र अशुभ देखेपछि चाँगुनारायण चाँगु नफर्की हनुमानढोकामै बस्ने भन्ने विश्वासका साथ यसरी माटाका भाँडाकुडा फुटाउने गरिन्छ ।

चाँगुनारयणको कलश वर्षमा दुई पटक हनुमानढोका तलेजुमा ल्याउने गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनमा कलश यात्रामा माटाका भाँडाकुडा फुटाउने चलन छ भने श्रावण शुक्ल द्वादशीका दिनमा भने भाँडाकुडा फुटाउने गरिन्न ।

Categorized in संस्कृति