छायाँ सेन्टरको मुद्दाको फैसला फेरि सर्यो
SamacharDesk | २०८१ मङ्सिर २५, मंगलबार

ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसला मिति फेरि सरेको छ ।
सर्वाेच्चले फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको सुनुवाई सकिएकाले सोमबार निर्णय सुनाउने भनिएको थियो ।
संयुक्त इजलासले कात्तिक १४ गते बहस टुङ्ग्याउँदै बहस नोट पेस गर्न आदेश गरेको थियो । १५ थान मुद्दामा न्यायाधीशद्धय सुवेदी र ढुङ्गानाको इजलासमा कात्तिक ७ गतेदेखि निरन्तर सुनुवाइ सुरु हुँदै कात्तिक १४ गते बहस टुङ्ग्याएको थियो ।
अधिवक्ता दीपकविक्रम मिश्रले २०७१ साल बैशाखमा सरकारी जग्गा अतिक्रमण गरी छायाँ सेन्टर बनाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
उक्त विवादमा सर्वोच्चमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै दायर भएका मुद्दा छन् । भवन निर्माण नै रोक्नुपर्ने माग भए पनि अदालतले अन्तिम फैसला नभएसम्म निर्णय नगर्ने भनी सुनुवाइ सार्दै आएको थियो ।
काठमाडौं महानगरपालिका–२६ ठमेलको भगवान् बहालस्थित विक्रमशील महाविहारको पूर्वतर्फ सयौं वर्ष पुरानो कमलपोखरीमा बल मिच्याइँ गर्दै पृथ्वीबहादुर पाण्डेसहित ‘शक्तिशाली’४३ व्यवसायीको समूहले व्यापारिक भवन छायाँसेन्टर ठड्याएपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले न्यायालय गुहारेका थिए।
कित्ता नम्बर १६७ क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा र २ दाम जग्गा मासेर बैंकर पाण्डेले छायाँदेवी कंम्प्लेक्स बनाई २०७५ सालदेखि सञ्चालनमा रहेको छ।
बैंकर पाण्डेले ठमेल भगवान् बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायाँदेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग राखेरसर्वोच्च अदालतमा १५ थान मुद्दा दायर गरिएको थियो।
Categorized in राष्ट्रिय