मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको रौनक
SamacharDesk – Ram Dangol | २०८० मङ्सिर १, शुक्रबार

मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि शुरु भएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा नहाय–खाय विधि अन्तर्गत चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
व्रतालुले आज नहाय–खाय विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी अरबा–अरबाइन भनिने विधि गरेका थिए ।
आज व्रतालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनितो खान्छन् । यो विधिलाई मिथिलामा नहाय–खाय भन्ने गरिएको छ ।
हिजो अरबा–अरबाइन र आज नहाय–खाय विधि गर्ने व्रतालुले भोली शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् ।
अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्व आजदेखि शुरु भएको हो ।
छठ पर्वमा बाँसको ढाकी, माटोले बनेका सामग्री लगायत चढाइन्छ भने प्रसादमा प्रमुख ठेकुवा, केराका साथै भुसुवा, खाजा, मिठाई, अदुवा, उखु, हल्दी तथा फलफूल आदि सूर्यलाई चढाइन्छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुले छठ पूजा गर्ने अनुमान गरिएको छ ।
पछिल्लो समय काठमाण्डौलगायत पहाडी क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । राजधानीका विभिन्न नदी किनार तथा पोखरीहरुमा पनि छठको पूजा हुँदैछ ।
कमल पोखरी, नागपोखरी, गहनापोखरी तथा बाग्मती नदी किनारहरुमा छठ पूजा भैरहेको छ । काठमाडौं र ललितपुरका विभिन्न १३ स्थानमा छठ पूजाको तयारी गरिएको छठ व्यवस्थापन समितिले जनाएको छ ।
Categorized in संस्कृति