चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ शुभारम्भ
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० चैत्र २७, मंगलबार

चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ’ बैङ्क’ स्थापना गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले सोमबार आयोजित कार्यक्रममा कपडा बैङ्कको शुभारम्भ गरेका थिए ।
सो अवसरमा नगर प्रमुख गिरिले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रबर्द्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अभिनेता हमालले कपडा बैङ्कका साथै खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको जानकारी दिँदै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए ।
प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोकामा रहेको ‘कपडा बैङ्क’ मा लगेर जम्मा गर्न सकिनेछ भने सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले रिसाइकल गर्नेछ ।
रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले आफ्ना ‘शो रुम’मा राख्ने र आवश्यक पर्ने जो कोहीले ‘शो रुम’ मा गई यस्ता कपडा र झोला निःशुल्क लिन सकिने बताइएको छ ।
साथै बैङ्कले विपन्न तथा गरिब वर्गलाई घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’ सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो ।
Categorized in स्थानीय