चन्द्रागिरि नगरपालिकामा सामुदायिक नर्स कार्यक्रम सञ्चालनमा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० चैत्र १९, सोमबार

चन्द्रागिरि नगरपालिका (चनपा) ले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
यससेवा अन्तर्गत स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण), परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट, सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतना लगायतका सेवा प्रदान भइरहेको चनपाले जनाएको छ ।
नगर प्रमुख घनश्याम गिरीले सामुदायिक नर्स कार्यक्रम मार्फत घरघरमै स्वास्थ्य सेवा एवं परामर्श प्रदान गरिरहेको जानकारी दिए ।
‘नगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचार सेवाको पहुँचमा ल्याउन ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई तीब्र बनाएको छ । नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा स्वास्थ्य शिविरनै सञ्चालन गरी ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई अगाडि बढाइरहेको छ’ नगर प्रमुख गिरीले बताए ।
हालसम्म चन्द्रागिरि –२, चन्द्रागिरि –७, चन्द्रागिरि –१५ मा स्वास्थ्य शिविर सम्पन्न भइसकेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भु कुमार महतोले जानकारी दिए ।
चन्द्रागिरि –२ बाडभञ्ज्याङस्थित स्वास्थ्य चौकीमा शनिबार सञ्चालित शिविरमा २१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
चन्द्रागिरि –७ स्थित शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न स्वास्थ्य शिविरमा १८२ जना र चन्द्रागिरि –१५ स्थित तीनथाना स्वास्थ्य चौकीको शिविरमा १८६ जनाले स्वास्थ्य परीक्षण गराएको अधिकृत महतोले बताए ।
नगरपालिकाबाट सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा पनि सञ्चालनमा आउने नगर प्रमुख गिरीले बताए ।
वि सं २०७६ बैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ शैय्याको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको सेवा प्रदान गरिरहेको छ ।
पछिल्लो समय अस्पतालले विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिरहेको छ ।
Categorized in स्थानीय