३ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु संख्या ५२
SamacharDesk – बिकाश | २०७७ श्रावण १५, बिहिबार

कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि जारी रह्यो । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
यहि क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैपल्ट ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले मोरङका एक जना र पर्साका २ जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
मोरङ जिल्ला सुनवर्ती नगरपालिका ८ का ४५ वर्षीय पुरुषको हिजो उपचारको क्रममा मृत्यु भएको छ ।
ज्वरो र श्वासप्रश्वासको समस्याका कारण वीरगंजस्थित कोभिड अस्पतालमा उपचाररत उनलाई हिजै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो ।
उनको स्वाब नमूना संकलन गरी प्रादेशिक प्रयोगशाला प्रदेश १ मा परिक्षण गरिँदा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठानको आइसीयूमा भेन्टिलेटरमा राखी उनको उपचार हुँदै थियो भने उपचारकै क्रममा हिजो अपरान्ह ४ः१५ बजे उनको मृत्यु भएको हो ।
उनको निरन्तर भारतमा आवतजावत भइरहने गरेको बताइएको छ ।
त्यसैगरी मुटु र मधुमेहका दीर्घरोगी समेत रहेका पर्सा जिल्ला वीरगंज महानगरपालिका ७ का ७० वर्षीय पुरुषको पनि हिजै मृत्यु भएको छ ।
निमोनियाको उपचारको लागि वीरगंजको निजी अस्पतालमा रहेका उनलाई गत साउन ८ गते नारायणी अस्पताल भर्ना गरिएको थियो ।
उपचारको क्रममा हिजो विहान ११ बजे उनको निधन भएको छ ।
उनमा हिजै मात्र कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
पर्सा जिल्ला बीरगज ५ का ६८ वर्षीय पुरुषको पनि हिजै निधन भएको छ ।
मृगौलाको समस्या रहेका उनी झाडापखालाको समस्याको उपचारको लागि वीरगंजको विभिन्न अस्पतालमा जाँच गराई १४ गते नारायणी अस्पताल पुगेका थिए ।
नारायणी अस्पतालमा आईसीयू खालि नहुँदा उनलाई नेशनल मेडिकल कलेज भर्ना गरिएको थियो ।
उनमा गत साउन ७ गते कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
Categorized in समाज