arin enterprises

बीरगंजका ४ जना कोरोना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ श्रावण १६, शुक्रबार

पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । 

पछिल्लो दिन दिनहुँ जसो मृत्यु हुने क्रम जारी रहेकोमा पछिल्लो पटक ४ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

हिजो र आज गरी मृत्यु हुने ४ जना सबै पर्सा जिल्ला वीरगंज महानगरपालिकाकै रहेका छन् ।

वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते राती ११ बजे निधन भएको छ ।

गत ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मुटुको रोगी समेत रहेका उनलाई आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

मृत्युको समयमा उनको शरीरमा अक्सिजनको मात्रा कमी हुँदै गएको बताइएको छ ।

त्यसैगरी वीरगंज १६ निवासी ३५ वर्षीय पुरुषको पनि हिजै बेलुका ७ः४० मा गण्डक कोभिड अस्पतालमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि निजि क्लिनिक हुँदै गत साउन ५ गते तराई अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नदेखिएपछि १३ गते गण्डक अस्पताल पुगेका थिए । 

ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएका उनको स्वाब नमूना संकलन गरी परिक्षण गरिँदा १५ गते आएको परिक्षणको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

त्यसैगरी वीरगंज २ छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि हिजै विहान निधन भएको छ ।

कोरोना परिक्षणका लागि उनको स्वाब नमूना संकलन गरिएको थियो भने मृत्यु पश्चात दिउँसो स्वाब जाँचको रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो ।

बीरगंज ११ स्थायी घर भई हाल ललितपुर ५ थसिखेल ५ बस्दै आएकि ६५ वर्षीया महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको छ ।

मधुमेह र उच्च रक्तचापको विरामी उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या स्टार अस्पतालमा भर्ना भएकि थिइन् ।

कोरोना संक्रमण परिक्षणका लागि स्वाब नमूना संकलन गरी परिक्षण गरिँदा गत ६ गते कोरोना पुष्टि भएपछि उनलाई पाटन अस्पताल रिफर गरिएको थियो ।

आज ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना भाईरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Categorized in समाज