परिक्षणको ५० प्रतिशत बढिमा संक्रमण
SamacharDesk – बिकाश | २०७८ बैशाख २७, सोमबार

नेपालमा आजसम्मकै उच्च दरमा कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको परिक्षणको ५० दशमलव ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
जम्मा १८ हजार ४११ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २७१ जनामा संक्रमण देखिएको हो । १७ हजार ६२३ आरटी पिसिआर र ७८८ एन्टिजेन परिक्षण गरिएको थियो ।
थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका बालबालिका १९३ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख नाघेको छ । हालसम्म ४ लाख ३ हजार ७९४ जना कोभिड १९ बाट संक्रमित भइसके ।
हाल ९३ हजार १४१ सक्रिय संक्रमित उपचाररत छन् । ८६ हजार ४२६ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६ हजार ७१५ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा उपचाररत ९१० जनामध्ये २९५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
२९ वटा जिल्लामा ५ सयभन्दा माथि सक्रिय संक्रमित छन् भने १७ जिल्लामा २ सय माथि संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमित निको भएका छन् । हालसम्म ३ लाख ६ हजार ७९४ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा १३९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाबाट कोभिड १९ बाट मृत्यु हुनेको शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृतक संख्या थप गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ३ हजार ८५९ जना संक्रमितको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय