arin enterprises

दैनिक २० प्रतिशतको हाराहारीमै नयाँ संक्रमित थपिँदै

SamacharDesk – बिकाश | २०७८ आषाढ २५, शुक्रबार

नेपालमा हरेक दिनको परिक्षणबाट २० प्रतिशतकै हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् ।

पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी देखिएपनि नयाँ संक्रमित थपिने दरमा भने कमी आएको छैन । निषेधाज्ञा खुकुलो भएसँगै परिक्षण संख्या घटेकोले मात्र नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो ।

आज पनि परिक्षण संख्याको २० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा ११ हजार ३१३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

जम्मा ६ हजार ६५७ आरटी पिसिआर परिक्षणमा एक हजार ४७९ र ४ हजार ६५६ एन्टिजेन परिक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ३९ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने १२० जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

हालसम्म नेपालमा ६ लाख ९५ हजार ८८ जना कोभिड संक्रमित भइसकेका छन् ।

तीमध्ये ६ लाख १३ हजार ९२९ जना संक्रमित निको पनि भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ६१६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल २६ हजार ५९० जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ९२० जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ६७० संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ५३९ जनामध्ये १६६ जना भेन्टिलेटरमा छन् ।

थप २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय