arin enterprises

कोभिड संक्रमणको अवस्थामा कमी आउँदै

SamacharDesk – बिकाश | २०७८ भाद्र १४, सोमबार

नेपालमा कोभिड १९ संक्रमणको दोश्रो लहर निकै भयावह देखिएको थियो । संक्रमणको दोश्रो लहरको शुरुवातसँगै संक्रमणको साथमा मृत्यु दरसमेत ह्वात्तै बढेको देखिएको थियो ।

पछिल्लो समय भाद्र महिना लागे यता भने स्थिती नियन्त्रणमा आउँदै गरेको पाइएको छ । भाद्र महिना लागेसँगै नयाँ संक्रमणको दरको साथमा दैनिक मृत्यु संख्यामा समेत कमी आउन थालेको हो ।

संक्रमण दरमा केही कमी आएको देखिएपनि परिक्षणको तुलनामा नयाँ संक्रमण दर केही समयसम्म लगातार २० प्रतिशतको हाराहारीमा बसेको थियो । पछिल्लो दुई दिनमा यो दर पनि ह्वात्तै घटेर १५ प्रतिशतको हाराहारीमा पुग्न आएको छ ।

पछिल्लो २४ घण्टामा परक्षण संख्याको आधारमा १४ दशमलव १३ प्रतिशतमा स.क्रमण पुष्टि भएको छ । जम्मा १६ हजार २३३ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ ।

११ हजार ८९२ आरटी पिसिआर परिक्षण गरिएकोमा एक हजार ९०२ र ४ हजार ३४१ एन्टिजेन परिक्षणमा ३९३ जना संक्रमित भेटिएका हुन् ।

हिजो भने परिक्षणको १३ दशमलव ४७ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । १० हजार २९७ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक हजार ३८८ जनामा संक्रमण देखिएको थियो ।

सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ ।

केही दिन अघि सक्रिय संक्रमितको संख्या ४० हजार नाघिसकेको थियो भने आजको मितिमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।

तीमध्ये ३३ हजार ३३३ संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा उपचारर संक्रमितको संख्या २ हजार ५४१ रहेको छ । आइसीयूमा ५६८ जना छन् भने १६० जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 

संक्रमणको अवस्थामा कमी देखिएपनि स्वास्थ्य मापदण्डको पालनामा जोड दिनुपर्ने स्वास्थ्यविद्हरुले बताएका छन् ।

संक्रमणको तेश्रो लहर आउन नदिन पूर्ण मात्रामा खोप लिनुका साथमा मास्क, स्यानिटाइजर र सामाजिक दुरी लगायतका सुरक्षाका उपायलाई ध्यान दिन स्वास्थ्यविद्हरुले सुझाएका छन् ।

Categorized in राष्ट्रिय