संक्रमण दर घट्दै, १० प्रतिशतमा मात्र संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ भाद्र २६, शनिबार

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दरमा दिनहुँ कमी आउँदै गरेको छ ।
संक्रमणको दोश्रो लहर शुरु भएसँगै संक्रमण दर बढ्दै गएर ५० प्रतिशतको हाराहारीसम्म पुगिसेकेको थियो भने हाल यो दर घटेर १० प्रतिशतको हाराहारीमा छ ।
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको दर १० प्रतिशत रहेको छ । पछिल्लो परिक्षणको १० दशमलव १० प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
जम्मा ९ हजार ८४० नमूनाको परिक्षण गरिएकोमा ९९४ जनामा संक्रमण देखिएको हो । ६ हजार १३७ आरटी पिसिआर परिक्षणमा ७७७ र ३ हजार ७०३ एन्टिजेन परिक्षणमा २१७ जना संक्रमित भेटिएका हुन् ।
नयाँ संक्रमितमध्ये १० वर्षसम्मका बालबालिकाहरुको संख्या १३ जना मात्र रहेको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जना छन् ।
हाल उपचाररत सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ । तीमध्ये २५ हजार ७०८ जना संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ६४७ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा उपचाररत ४५६ जनामध्ये १२२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
हाल १३ वटा जिल्लामा ५ सय बढि सक्रिय संक्रमित छन् भने २ सय बढि सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २१ रहेको छ ।
हालसम्म ८ लाख ६२ हजार ९४६ जना कोरोना भाईरसबाट संक्रमित भइसके । आरटी पिसिआर परिक्षणमा ७ लाख ७६ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परिक्षणबाट ८६ हजार ६२१ जना संक्रमित भेटिएका छन् ।
Categorized in राष्ट्रिय