arin enterprises

थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५१६

SamacharDesk – विकाश | २०७७ जेठ ९, शुक्रबार

नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुर, भक्तपुर र सप्तरीमा एक एक जनामा र बारामा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुर, हेटौंडा–३ कि ५४ वर्षीया महिला, भक्तपुर–९ कि ४२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सप्तरी बलान–विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

त्यसैगरी बारा सिमरौनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरुको नमूना किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा परिक्षण गरिँदा संक्रमण भेटिएको हो ।

थप भएका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

यसअघि आजै ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । आज विहानै ३० जनामा संक्रमण देखिएको थियो भने साँझमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ५ सय १६ पुगेको छ । तीमध्ये ७० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ३ जनाको भने मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय