arin enterprises

पाटनमा भोलि कर्फ्यू

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

पाटनमा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज स्थिती तनावग्रस्त बनेपछि स्थिती थप विग्रिन नदिन भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ ।

आज पाटनको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न गएको समूह र प्रहरीबीच स्थिती तनावग्रस्त भएको र यसबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि बिहान ४ बजेबाट बेलुकी १० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो ।

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथ भित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश लागू हुने जिप्रका ललितपुरले जनाएको छ ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रमा आवतजावत गर्ने, भेला गर्ने, जुलुस निकाल्ने जस्ता गतिविधि गर्न निषेध गरिएको जिप्रका ललितपुरबाट जारी सूचनामा उल्लेख छ ।

साथै कर्फ्यू उल्लंघन गरी घरबाट निस्केमा सुरक्षाका लागि खटिएका प्रहरीले गोली समेत हान्न सक्ने पनि जिप्रका ललितपुरले जनाएको छ ।

लामो समयदेखि अन्यौलमा परेको मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न गर्न राज्यले बेवास्ता गरेको भन्दै आक्रोशित समूह पुलचोकमा भेला भई रथ तानेका थिए 

निषेधाज्ञाका बीच रथ तान्न ठुलो भीड जम्मा भएपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहराले पनि हानेको थियो भने अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

त्यसपछि पुरै पुल्चोक क्षेत्रको साथमा रथ प्रहरीले घेरा हाली नियन्त्रणमा लिएको थियो ।

झडपको क्रममा प्रदर्शनकारी, ट्राफिक प्रहरी र केही पत्रकारहरु समेत घाइते भएका थिए भने केही प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Categorized in समाज