arin enterprises

दादुरा–रुबेला खोप अभियान सुरु

SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

सरकारले आजबाट दादुरा–रुबेला खोप अभियान सुरु  गरेको छ ।

आजदेखि चैत ७ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरेकोे छ ।

राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

जाजरकोट र पश्चिम रुकुम बाहेक देशभरका ७५ जिल्लामा सञ्चालन हुने खोप अभियान अन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ बालबालिकालाई खोप लगाउने र यसका लागि देशभर एक हजार ६७० खोप केन्द्र तोकिएका छन् ।

खोप लगाउनका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मको समयसीमा तोकेको छ । जसमा ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुने अनुमान गरिएको छ ।

काठमाडौँ महानगरपालिकामा २ लाख ५० हजार बालबालिका रहेकोमा काठमाडौं जिल्लाका १० स्थानीय तहका केही नगरपालिकामा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

खोप अभियानमा ३३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ ।

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानसमेत मन्त्रालयको आग्रह छ ।

दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

Categorized in राष्ट्रिय