ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ११, शुक्रबार

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय सुनाएको छ । बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले ४० वर्षीय एल्भेसलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
ब्राजीलका पूर्व खेलाडिले सन् २०२२ डिसेम्बर ३१ बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा लगि बलात्कार गरेको बीबीसीले उल्लेख गरेको छ ।
तीन जना न्यायाधीशको इजलासले पीडितलाई एल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ ।
एल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने नौ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न समेत प्रतिबन्ध लगाएको छ ।
स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुने कानुन छ । यस्तै पीडिततर्फका वकिलले एल्भेसलाई १५ वर्षको जेल सजाय माग गरे पनि फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका बीबीसीले जनाएको छ ।
यता एल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरुद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन् ।
Categorized in स्पाेर्ट्स