हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरु
SamacharDesk – बिराज | २०८० आश्विन २८, आइतबार

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं आजबाट विधिवत रुपमा सुरु भएको छ ।
शारदीय नवरात्रको पहिलो दिन अर्थात आश्विन शुक्ल प्रतिपदाको दिनमा आज सबैले आआफ्नो दशैं घर वा आगम घरमा विधिवत कलशको साथमा माता दुर्गाको प्रतिमा स्थापना गरी, जमरा रोपेर बडा दशैंको शुभारम्भ गर्ने गरिन्छ ।
आजको दिन विहानै स्नान गरी, नजिकैको नदी, खोला, अथवा बगरतिर गाई चोखो बालुवा ल्याएर दसैं घर या आगम घरमा राखी जौ, मकैलगायतका अन्न छरेर जमरा रोपिन्छ ।
जमरालाई माता भगवतीको प्रिय वनस्पतिको रुपमा लिइन्छ । पञ्चांग निर्णायक समितिले आज घटस्थापनाको लागि साइत आवश्यक पर्नेहरुको लागि बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको बताएको छ ।
तर, घरघरमा जमरा रोप्नको लागि भने साइतको आवश्यकता नभएको बताइएको छ ।
आज घटस्थापना पछि नौ दिनसम्म शक्तिको आराधना गर्दै नवरात्र मनाइन्छ ।
दशौं दिन अर्थात आश्विन शुक्ल दशमीको दिनमा विसर्जन गर्दै ठुलाबडाको हातबाट टिका थाप्नुको साथै आजको दिन रोपिएको जमरा ग्रहण गर्ने गरिन्छ ।
आजबाट काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा आराधना गर्नेको भीड लाग्ने गर्दछ ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिँदै
शारदीय नवरात्रको क्रममा आज पहिलो दिन, शैलपुत्रीको पूजा आराधना गरिँदैछ । लोक कल्याणका लागि माता पार्वतीले विभिन्न समयमा लिएका विभिन्न नौ वटा रुपलाई नवदुर्गाको रुपमा पूज्ने गरिएको छ ।
नवदुर्गाको नौमध्ये पहिलो रुप शैलपुत्री हो । शैल अर्थात पर्वत, पर्वतराजकी पुत्री भएकोले यिनलाई शैलपुत्री भनिएको हो ।
यिनलाई बृषारुढा नामले पनि चिनिन्छ ।
पिता दक्ष प्रजापतिले यज्ञ अनुष्ठान आयोजना गरेको थाहा पाएपछि सतीदेवी पिताको उक्त अनुष्ठानमा निमन्त्रणा बिना नै सहभागी हुन पुगेछन् ।
सतीदेवीलाई देख्ने वित्तिकै पिता दक्ष प्रजापतिले पुत्रीको त अपमान गरे नै, साथमा महादेवलाई पनि निकै अपमानजक शब्द प्रयोग गरेछन् ।
आफ्ना पति महादेवको अपमानसहन नसकी आफ्नो शरीरकै तेजबाट आफुलाई भष्मिभूत गरेकी दक्ष पुत्री दक्षायणी अथवा सतीले शैल अथवा पर्वतराजकी पुत्रीको रुपमा पुनर्जन्म लिएको उल्लेख शास्त्रहरुमा गरिएको छ ।
पीत अर्थात पहेंलो वर्णकी, मस्तकमा अर्ध चन्द्रको साथमा विभिन्न आभूषण, मुकुट इत्यादि धारण गरेकी यिनको वाहन वृष अर्थात् साँढे हो । दायाँ हातमा त्रिशूल तथा बाँया हातमा पद्म धारण गर्नुहुन्छ ।
शारदीय नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुल्क प्रतिपदाको दिन शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष प्राप्त हुनुका साथै सबै प्रकारको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
शैलपुत्रीलाई श्रद्धाभक्तिले अर्पण गरिएको सबै प्रकारको फल, पकवान र पुष्पहरू प्रिय छ ।
शैलपुत्रीलाई मूलाधार चक्रकी स्वामिनीको रुपमा लिइन्छ ।
Categorized in संस्कृति