arin enterprises

नेवाःहरु घरघरमा कूछी भ्वय् खाईंदै

SamacharDesk – Ram Dangol | २०८० कार्तिक ५, आइतबार

नेपालीहरुको महान चाड दशैंको आज आठौं दिन नेवार समुदायहरु आज विधिवत रुपमा घरघरमा कुलिछेंँ भ्वय् अथवा कूछि भ्वय् खाईंदैछ ।

मोहनी नखःको आठौं दिन आज विधिवत रुपमा दशैंको मासु भित्र्याएर कूछी भ्वय् खाई महाअष्टमी पर्व मनाईंदैछन् ।

आजको दिन कूलका सदस्यहरु सबै भेला भएर कूछि अर्थात दुई माना चिउराका साथ विभिन्न परिकारहरु राखेर भोज खाने चलन रहेको छ ।

नेवार समुदायमा कुछि भ्वय् सन्दर्भमा २ वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछीको अर्थ दुई माना हो भने भ्वय् अर्थ भोज हो।

दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ। अर्काथरी कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंश भएर कुछी भ्वय हुन गएको मान्यता रहेको छ ।

विशेष गरी अष्टमीलाई कुछि भ्वय्, नवमीलाई स्याक्वट्याक्व नखः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखः मनाइन्छ ।

वर्षभरि मनाइने चाडपर्वमध्ये मोहनी नखः सबैभन्दा महत्त्वपूर्ण र ठूलो चाड हो। मोहनी नखः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेसमेत घर आउने गर्दछन्।

त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु पनि एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भइ मोहनी नखः मनाउने गरिन्छ। विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउने नेवार समुदायमा अष्टमीको खाने कुछी भ्वय्को विशेष महत्व रहेको छ।

यसको परिकार समेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ। कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ ।

कुछी भ्वय खान केराको पातमा २ माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका ससाना दुईथरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको छ।

कुछी भ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ।

Categorized in संस्कृति