जनजाति चलचित्र विभाग गठन गर्न माग
SamacharDesk – बिराज | २०७८ कार्तिक १२, शुक्रबार

मातृभाषी चलचित्र क्षेत्रको उत्थान र विकासको लागि आदिवासी जनजाति मातृभाषी चलचित्र विभाग गठन गर्न सराेकारवालाहरूले माग गरेका छन् ।
आज आदिवासी जनजाति चलचित्र महासंघकाे प्रतिनिधि मण्डलले सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगलाई भेटेर आदिवासी जनजाति चलचित्र क्षेत्रको विकास र उत्थानका लागि अधिकार सम्पन्न विभाग गठन गर्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष अमृत सुनुवारको नेतृत्वमा नवनियुक्त संचार मन्त्री कार्कीलाई बधाई दिन संचार मन्त्रालय सिंहदरवार पुगेको प्रतिनिधि मण्डलले जनजाति चलचित्र क्षेत्रको विकास र विस्तारमा ध्यान पुर्याउन ध्यानाकर्षण गराएको थियो ।
महासंघकाे विभिन्न मागहरूसहितकाे ज्ञापन पत्र बुझाउँदै महासंघका अध्यक्ष अमृत सुनुवारले जनजाति चलचित्रको व्यावसायिक प्रदर्शनका लागि विशेष प्राथमिकतासहितको व्यवस्था गर्न माग गरे ।
‘२०४४ सालमा नेपालभाषाको चलचित्र सिलुको निर्माणदेखि आजसम्म आइपुग्दा करीब ७ सयको संख्यमा आदिवासी जनजाति चलचत्रिहरु निर्माण भइसके तर, सिमीत बजारको अवस्थामा यो क्षेत्र व्यावसायिक रुपमा अघि बढ्न सकेको छैन’, अध्यक्ष सुनुवारले भन्नुभयो, ‘समुदायकै आवाज बनिरहेको जनजाति चलचित्रको उत्थानको लागि राज्यले ध्यान पुर्याउनु आवश्यक छ ।’
साथमा महासंघले आदिवासी चलचित्रको अध्ययनको लागि कलेजकै स्थापना गर्न, समयानुकुल मातृभाषी चलचित्र प्रदर्शनका लागि डिजितल प्लेटफार्मको विकास गर्न, जनजाति चलचित्रको अध्ययन, विश्लेषण, प्रकाशन, प्रसारणको लागि आवश्यक बजेटको व्यवस्था गर्नसमेत माग गरेको छ ।
महासंघले आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठलाई पनि भेटेर बधाई दिनुका साथै महासंघको मागको विषयमा ध्यानाकर्षण गराएको छ ।
