arin enterprises

भोला रिजालका छोरा कपिलको अंग्रेजी फिल्म विश्वव्यापी रिलिज

SamacharDesk – विजयरत्न | २०७८ बैशाख २१, मंगलबार

गौंथली, लक्ष्मी पुजालगायतका नेपाली फिल्म निर्माण गरेका प्रसिद्ध चिकित्सक डा भोला रिजालका छोरा डाक्टर कपिल रिजालले निर्माण गरेको अंग्रेजी शर्टफिल्म विश्वव्यापी रिलिज भएको छ ।

विगत २६ बर्षदेखि बेलायतमा बस्दैआएका दन्त चिकित्सक डाक्टर कपिलको निर्माण तथा निर्देशनमा बनेको अंग्रेजी फिल्म ‘कर्माः लाइफ इज ए बुमेर्‍याङ यु गेट व्हाट यु गिभ’ युट्युबमार्फत विश्वव्यापी रिलिज भएको हो ।

डाक्टर रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन लण्डनको व्यानरमा चलचित्र निर्माण गरिएको छ । फिल्ममा लण्डनबासी नेपालीहरुका साथमा लण्डनका कलाकारहरुलाई  समेत अभिनय गराइएको छ ।

हलिउडका नाम चलेका प्राविधिकसमेतको संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो ट्यांक) को प्रमुख भूमिका रहेको छ भने लण्डनकी डेली एलन नायिकाको भूमिकामा देखिएकी छन् ।

साथमा लण्डनमै रहेका चर्चित नेपाली कलाकार सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक र निशान पुनले पनि अभिनय गरेका छन् ।

छायाङ्कनको सम्पूर्ण कार्य लण्डनमै गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको जनाएको छ ।

सस्पेन्स थ्रिलर फिल्ममा कथा डाक्टर कपिलकै छ भने पटकथा उनको साथमा लुक हन्टरले तयार पारेका हुन् । स्टोरी बोर्डिङ ग्रेम जोन्सले बनाएका छन् भने संगीत भासोन ब्लुको रहेको छ ।

स्टन्ट संयोजन इअन भ्यान टिम्परलीले, छायांकन फास्टस टक्लाले, दृश्य सम्पादन दिपेश केपी र एलेक्स टोम्लीले गरेका छन् भने भिएफएकस प्लुटस स्टुडियोको रहेको छ ।

सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

डा. कपिल चिकित्सा क्षेत्रबाट फुर्सद मिलेको समयमा पिताजस्तै कलाकारिता क्षेत्रमा रम्ने गरेका छन् । नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोको निर्देशन गरिसकेका डा रिजालको यो शर्टफिल्म ११ मिनेट २२ सेकेन्डको छ ।

डाक्टर रिजालले यसअघि कोभिड १९ को विषयमा एकल कलाकार लिएर “गिल्ट “नाम सर्ट फिल्म बनाएका थिए । २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सर्ट फिल्म पनि बनाएका थिए ।

Categorized in पेजथ्री