इतिहास सच्याउन माग गर्दै महासंघलाई फोनिजको स्मरण पत्र
SamacharDesk – बिराज | २०८० फाल्गुण १६, बुधबार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ ।
फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल जेठमा नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न माग गरेको हो ।
फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई आन्दोलनको अल्टिमेटमसहित सो स्मरणपत्र बुझाएका हुन् ।
स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गरी इतिहासलाई सम्मान गर्न माग गर्दै फोनिजले गत वर्ष पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाएकोले मंगलबार बुझाइएको पत्रलाई स्मरणपत्र भनिएको हो ।
स्मरण पत्र बुझ्दै पत्रकार महासंघका अध्यक्ष पोखरेलले पत्रकार महासंघ गलत तथ्यको आधारमा रम्न नचाहेको उल्लेख गर्दै प्राप्त तथ्य र प्रमाणको आधारमा इतिहास सच्याउने पक्षमा रहेको बताए ।
‘अहिलेको विधानले स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेको छ । यसबीचबाट इतिहास सही या गलत के हो भन्ने विषयमा विज्ञहरूसहितको टोलीबाट अध्ययन गराई टुगो लगाउँदा न्यायपूर्ण हुनेछ’ अध्यक्ष पोखरेलले भने ।
अध्यक्ष पोखरेलले महासंघको आउँदो फागुन १९ गतेको बैठकमा यस विषयमा छलफल गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस अघि फोनिजका अध्यक्ष राईले फोनिजको माग अनुसार एक साताभित्र स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक कायम गर्न प्रक्रिया शुरु नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिए ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले फोनिजको सुझाव र मागअनुसार महासंघले अध्ययन समिति बनाएर इतिहास र संस्थापकबारे टुंगो लगाउन तयार रहेकाले दबाबको कार्यक्रम नगर्न फोनिजलाई आग्रह गरेका थिए ।
महासंघ महाधिवेशनको संघारमा रहेकाले आन्दोलन, तालाबन्दीजस्ता गतिविधि फोनिजले गर्न नहुने उहाँको भनाई थियो ।
महासंघका महासचिव रोशन पुरीले अध्ययन समिति बनाएर त्यसबारे निर्क्यौलमा पुग्नेगरी काम गर्न महासंघ तयार रहेकाले संघर्षका कार्यक्रम फिर्ता लिन फोनिजसंग आग्रह गरे ।
स्मरणपत्र बुझाउन फोनिजका पदाधिकारी र संघीय सदस्य सहित नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठसहितको टोली पुगेका थिए ।
वार्तामा आउन आग्रह
महासंघका महासचिव रोशन पुरीले फोनिजलाई पत्र लेख्दै वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेका छन् ।
फोनिजको अल्टिमेटमसहितको स्मरणपत्रले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पुरीले वार्ता र संवादमा आउन फोनिजलाई आग्रह गरेका हुन् ।
पत्रमा लेखिएको छ, ‘यो विषयलाई वार्ता र संवादमार्फत निश्चित विधि तय गरी टुग्याउनुपर्ने महासंघको निष्कर्ष छ । अतः घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिई वार्तामा आउनका लागि हार्दिक अनुरोध छ ।’
Categorized in समाज