arin enterprises

पत्रकार दबू बागमतिमा राजोपाध्यायको नेतृत्व

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ भाद्र ४, बिहिबार

नेवाः पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले संगठन विस्तारको क्रममा प्रदेश समिति गठन थालेको छ । यसै क्रममा संगठनको पहिलो प्रदेश संचरनाको रुपमा बागमति प्रदेश समिति गठन गरिएको छ ।

बुधबार काठमाडौंमा पहिलो बागमति प्रदेश अधिवेशन आयोजना गर्दै बागमति प्रदेश समिति गठन गरिएको हो ।

अधिवेशनले पत्रकार बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) मा विनोद श्रेष्ठ र उपाध्यक्ष (महिला) मा कुसुम बज्राचार्य चुनिए । त्यसैगरी सचिवको जिम्मेवारी शनिराज शाक्यलाई दिइएको छ भने श्याम था श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

सह सचिव (खुल्ला) मा विश्वनाथ ताम्राकार र सह सचिव (महिला) मा विष्णुदेवी महर्जन रहेका छन् । सदस्यहरुमा सुरज मानन्धर, राजु महर्जन (जुजु), मदनराम कर्माचार्य, पुनमाया (श्रेष्ठ) कर्माचार्य, दिपक कायस्थ श्रेष्ठ र  ज्ञानदेव श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले संस्थामा पद औपचारिकता मात्र भएको विचार राख्दै सामूहिक नेतृत्व र सामूहिक निर्णयमै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

‘संगठनको पहिलो प्रदेश संरचना भएको हिसाबले यो ऐतिहासिक पनि छ र थुप्रै चुनौती र जिम्मेवारीहरु पनि छन् । बागमति प्रदेश समिति नेवाः पत्रकारहरुको एउटा शक्तिको रुपमा सबै मिलेर अघि बढाउनुछ ।’ अध्यक्ष राजोपाध्यायले भने ।

नवनिर्वाचित अध्यक्ष समाचारडेस्कका सम्पादक हुन् भने नेपालभाषामा संचालित न्यूज पोर्टल ईबुखँका अध्यक्ष समेत हुन् । हाल राजोपाध्याय ईमेज च्यानलमा नेपालभाषाका समाचारवाचकको रुपमा पनि कार्यरत छन् ।

२०५४ सालमा गुडनाइट एफ.एम. नेपालभाषा ज्याझ्वःमा समाचारवाचकको रुपमा विद्युतीय संचारमाध्यमको पत्रकारिता क्षेत्रमा प्रवेश गरेका राजोपाध्याय विभिन्न संचार माध्यम हुँदै हालसम्म पनि विद्युतीय साथै छापा पत्रकारितामा पनि निरन्तर सक्रिय छन् । 

यस अघि कार्यक्रमको उद्घाटन सत्रमा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, महासचिव केके मानन्धर, कोषाध्यक्ष बाबुकाजी साँछेँ श्रेष्ठ र बागमति प्रदेश अन्तर्गतका जिल्ला समितिका अध्यक्षहरुले आआफ्ना भनाई राखेका थिए ।

पत्रकार राष्ट्रिय दबूको स्थापना नेपाल सम्वत ११३२ मा भएको थियो । दबूको पाँचौ अधिवेशन आउँदो भाद्र १९ र २० गते गोरखा जिल्लाको मिलनबस्तीमा हुन गइरहेको छ ।

Categorized in समाज