arin enterprises

भूत भगाएर गथांमुगः अर्थात् गठेमंगल पर्व मनाईंदै

SamacharDesk – Ram Dangol | २०७९ श्रावण १०, मंगलबार

नेवार समुदायले विभिन्न समयमा विभिन्न मौसम तथा ऋतुअनुसार चाडपर्वहरू मनाउँदै आएका छन् ।

यसैमध्येमा एक विशेष पर्व हो गथांमुग अर्थात् गठेमंगल । यो दिन चतुर्दशीको दिन पर्ने भएकोले यस दिनलाई घन्टाकर्ण चतुर्दशी पर्व पनि भन्ने गरिन्छ ।

वर्षभरिका चतुर्दशीहरूमध्ये यस चर्तुदशीको बेग्लै महत्त्व रहेको छ । यस पर्वसँगै औपचारिक रूपमा उपत्यकामा पर्व तथा जात्राको शुरुवात भएको मानिन्छ ।

विशेषगरि नेवार समुदायले मनाउने गठेमंगललाई नेपाल भाषामा “गथांमुगः” भनिन्छ । यही शब्दबाट अपभ्रंस हुँदै नेपालीमा “गठेमंगल” भएको देखिन्छ ।

सांस्कृतिक तथा परम्परागत रूपमा यस पर्वलाई भूत पन्छ्याउने पर्वको रूपमा मनाउँदै आएका छन् ।

यो दिन साँझको समयमा भूतको लागि भनेर बौपा राखी दोबाटोमा राख्न लगिन्छ र घर फर्केर आई ढोकामा पूजा गर्दै तीनखुट्टे किल्ला ठोकी भूत भगाउने वा भूत आफ्नो घरलाई सुरक्षित गर्ने चलन रहिआएको छ ।

यसरी बौपा राख्दा विशेष प्रयोग हुने बौस्वाँ (करविर फूल) र गथांमुगः स्वाँ राखिन्छ । यसपछि घरभरि धुवाँले भरिने विशेष धूप बाल्ने गरिन्छ । त्यसैगरी रातिको समयमा घरघरबाट छ्वालीको मुठ्ठामा आगो बालेर बाहिर दोबाटो राख्न लाने चलन रहेको छ ।

यस प्रक्रियाले घरमा भएका भुतप्रेतका साथै नराम्रा शक्तिहरु बाहिर जाने विश्वार गरिएको छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिने विश्वास गरिन्छ ।

विशेषतः काठमाडौँमा प्राचिनकालबाटै तन्त्रमन्त्रमा पारंगत रहेकाले तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमंगललाई विशेष दिनका रूपमा लिइन्छ । यस दिनमा मानिसहरूले गठेमंगलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ ।

सम्पूर्ण रूपमा नराम्रा तत्व र दुर्भाग्यबाट समेत गठेमंगलको औँठीले सुरक्षा दिने जनविश्वास छ । गोपाल तथा लिच्छवी वंशदेखिको इतिहास बोकेको यो ऐतिहासिक गठेमंगल पर्वलाई नेपालभरि आ–आफ्नै तरिकाले मनाइन्छ ।

यो दिन मन्दिरहरूमा दान दिने चलन पनि छ । यसरी दान दिएमा दशा लगायतका दुर्भाग्यहरू टर्ने विश्वास गरिन्छ ।

Categorized in संस्कृति