arin enterprises

तिहारको क्रममा आज गोवर्धन पूजासाथै म्हपूजा

SamacharDesk – बिराज | २०८० कार्तिक २८, मंगलबार

आज कार्तिक शुक्ल प्रतिपदा, नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा गोबर्धन पूजा गरिँदैछ ।

त्यस्तै नेवाः समुदायले भने धुमधामका साथ विभिन्न कार्यक्रम गरी नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ लाई स्वागत गरिँदैछ भने आजै बेलुकी म्हपूजा पनि गरिन्छ ।

अघिल्लो लक्ष्मी पूजाको साथमा गाईको पूजा गरेकाहरुले आजको दिन गोरुको पूजा गर्ने गर्दछन् । साथमा गोबरलाई पर्वत आकार दिइ गोवर्धन पर्वतको रुपमा पूजा गर्ने गरिन्छ ।

द्वापर यूगमा श्रीकृष्ण भगवानले कृषि कार्य गर्दै धान लगायत अन्न उत्पादनमा सहयोग पुर्‍याउने गोरुको साथमा गोवर्धन पूजा गर्न लगाएको शास्त्रहरुमा उल्लेख छ ।

श्रीमद्भागव महापुराणका अनुसार इन्द्रको पूजा गर्न लागेका गोकुलवासीलाई कृष्णले गोरुको पूजा गर्न लगाएका थिए । आफ्नो पूजा नगरेपछि क्रोधित बनेका इन्द्रले थामिनसक्ने किसिमले ठुलो वर्षा गराए ।

त्यसपछि श्रीकृष्णले आफ्नो कान्छि औंलामा गोवर्धन पर्वत उठाइ ओत लगाएर द्वारीकावासीको रक्षा गरेका थिए । यो दृश्य देखेपछि अहंकारमा लिप्त इन्द्रको सबै अहंकार चकनाचुर भयो र इन्द्रले कृष्णको साथमा द्वारीकावासीसँग क्षमा मागे ।

यसै दिन र घटनाको स्मरण स्वरुप नै कृष्णले आफ्नो कान्छि औंलामा उठाएको गोर्वधन पर्वतको पूजा गर्ने गरिएको धार्मिक विश्वास समाजमा रहेको छ ।

नेवार समुदायमा म्हपूजा गरिँदै

नेवार समुदायमा भने आज बेलुकी म्हपूजा गर्ने गरिन्छ । आफ्नो प्रतिरुप मानेर मण्डल बनाई सोही मण्डलमा पूजा बनाई म्हपूजा गर्ने गरिन्छ ।

पानी, तेल, चामलको पीठो अथवा रेखीले मण्डल लेखी सो मण्डलमा मास, कालो भटमास, अक्षता आदि सामग्रीहरु राखेर मण्डल बनाइन्छ ।

घरको मुली महिला ‘नकिं’ले सबैलाई टिका लगाइदिनुका साथै अण्डा, मासको वः, मासु, सुकेको माछा र मद्यसहित सगुन दिन्छिन् ।

चन्द्रमानको आधारमा आजको दिन नयाँ वर्षको सुरुवात हुन्छ ।

वर्षको अन्तिम दिन आफ्नो घरजग्गाको साथमा लेनदेनको कागजात, पैसा, गरगहना आदि राखेर लक्ष्मीपूजा गर्दै पुरानो वर्षलाई विदाई गरिन्छ ।

त्यस्तै वर्षको पहिलो दिन आउँदा दिनमा आफ्नो कर्तव्य पूर्तिको क्रममा रोगव्याधी आदिले कुनै वाधा अवरोध नपुर्‍याउन् भन्ने कामनासहित अण्डा सगुन लिएर मण्डल पूजा गर्दै म्हपूजा गर्ने गरिन्छ ।

Categorized in संस्कृति