arin enterprises

सोमबारदेखि गुँला पर्व सुरु

SamacharDesk | २०८१ श्रावण २०, आइतबार

विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व भोलि सोमबारदेखि शुरु हुँदैछ ।

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् रुपमा भोलिदेखि सुरु हुँदैन ।

नेपाल संवत्अनुसार ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ हो नेपाल संवत् अनुसार नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ । 

यस्तै गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई पनि जनाउँछ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

विश्वसम्पदामा सूचीकृत स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा,भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको  सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

गुँला काठमाडौँका बौद्धमार्गीहरूले मात्र नभई नेवाः बस्ती भएको भिन्नभिन्न स्थानमा भएका बौद्धमार्गीहरूले पनि मनाइन्छ र मनाउँदै आइरहेको पनि छ, जस्तै, पाटन, भक्तपुर, कीर्तिपुर, ठिमी, बुङ्मती, साँखु, चाबहिलमा पनि हर्षोलासका साथ मनाइन्छ ।

गुँला पर्व एक महिनासम्म मनाइरहँदा यो बीचमा विभिन्न चाडपर्वहरु पनि सँगसँगै मनाइन्छ ।

नागपञ्चमी, यलपञ्चदान, पूर्णिमामा– गुंपुन्हि (क्वाटी पूर्णिमा), कुम्भेश्वर मेला, गाईजात्रालगायत दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशेऔँसी (बुबाको मुख हेर्ने) आदि पर्वहरु पनि हर्षाेल्लासपूर्वक मनाइन्छ ।

यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नेगर्दछ । पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ  ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ ।

गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

Categorized in राष्ट्रिय