महासचिव गुटरेस राजनीतिक भेटघाटपछि अवलोकन भ्रमणमा
SamacharDesk | २०८० कार्तिक १३, सोमबार

नेपालको चार दिने भ्रमणमा रहनु भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटेरेस हिजो दिनभर राजनीतिक भेटघाटमा व्यस्त हुनुभयो ।
हिजो उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुसँग शिष्टाचार भेट गर्नुभयो ।
महासचिव गुटरेस आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै हुनुहुन्छ । हिजो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न लाग्नुभएको हो ।
जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्ने कार्यक्रम छ ।
सोलुखुम्बुबाट काठमाडौं फर्केर गुटेरेस ललितपुरस्थित यू.एन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ ।
भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उहमाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नुहुनेछ ।
हिजोको भेटघाटपछि गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपालको द्वन्दकालिन मुद्धाहरुको टुंगो तथा विकास निर्माणमा राष्ट्रसंघको सहयोगलगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताउनु भएको छ ।
महासचिव गुटेरसले नेपालको संक्रमणकालिन न्याय प्रक्रियालाई सघाउन तयार रहेको बताउनुभयो । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको सर्वोच्च अदालतको आदेश तथा पीडितमैत्री हुनुपर्ने उहाँको भनाइ थियो ।
संक्रमणकालिन न्याय प्रक्रियाले द्वन्द पीडित, उनीहरुका परिवार र समाजमा शान्ति ल्याउनुपर्नेमा पनि गुटेरसले जोड दिनुभयो । साथै उहाँले इजरायलबाट हमास लडाकुले अपहरण गरेरे वेपत्ता पारिएका नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे आफू पनि निकै चिन्तित रहेको पनि बताउनुभयो ।
महासचिव गुटेरसले इजरायल र हमासबीचको युद्धले हजारौं सर्वसाधारणको ज्यान गईसकेको भन्दै युद्धरत् इजरायल र हमासलाई तत्काल युद्ध विराम गर्न आह्वान पनि गर्नुभयो ।
महासचिव गुटरेस भोलि लुम्बिनिबाट फर्केलगत्तै दिउसो चार बजे संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।
कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । उहाँ नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।
Categorized in राष्ट्रिय