arin enterprises

प्रविधिको माध्यमबाट हुने अपराधमा पूर्वतयारी गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

SamacharDesk – बिराज | २०८० माघ ८, सोमबार

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको माध्यमबाट हुन सक्ने अपराधहरूमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै प्रविधिको दुरुपयोगबाट हुन सक्ने अपराधप्रति सतर्कता अपनाई नियन्त्रण र अनुसन्धानमा पूर्वतयारी गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठले जोड दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा एक दिने ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री श्रेष्ठले अत्याधुनिक प्रविधिलाई अपराध नियन्त्रण र अनुसन्धानको प्रयोजनको लागि प्रयोग गर्न पर्याप्त स्रोत साधन व्यवस्था गर्नुको साथै दक्ष जनशक्ति तयार गर्नेतर्फ सबैको प्रयास हुनु जरूरी रहेको उल्लेख गरे ।

‘सही अनुसन्धानले अपराधीलाई कानूनको कठघरामा मात्र ल्याउँदैन, हुन सक्ने अपराधलाई रोक्ने र गलत प्रवृति भएका व्यक्तिहरूलाई निरुत्साहित गर्ने कार्य समेत गर्दछ । पीडितलाई न्यायको अनुभव गराउनुमा पनि अपराध अनुसन्धानको प्रमुख भुमिका रहेको हुन्छ’ गृहमन्त्री श्रेष्ठले भने ।

अपराध अनुसन्धानमा अन्य सरकारी निकायहरू, विभिन्न सेवा प्रदायक संस्थाहरू र नागरिकहरू समेतको समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहनेमा उनले जोड दिनुभयो ।

सो अवसरमा महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले अपराध अनुसन्धानलाई त्रुटिरहित, विश्वसनीय र प्रमाणको आधारमा अभियोजना गर्ने अवस्थालाई उच्चतम बिन्दुमा पुर्‍याउन सबै सरोकारवाला निकायहरू दृढ संकल्पित हुनुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै दण्डहिनताको अन्त्य गराउन सरोकारवाला निकायहरू बीचको व्यावसायिक सम्बन्ध र सहकार्य आवश्यक रहेको बताए ।

अर्थसँग सम्बन्धित अपराधहरूको अनुसन्धानको लागि नेपाल प्रहरीले विशिष्टकृत ब्यूरो स्थापनाको लागि समेत गृहकार्य थालेको प्रहरी महानिरीक्षक कुँवरले उल्लेख गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले अपराधको वर्तमान अवस्था र अपराध न्यूनिकरणका लागि तयार गर्नुपर्ने योजना लगायतका बिषयमा आ–आफ्नो विचार राखेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा,  प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ लगायतले संगठनको तर्फबाट आआफ्नो कुरा राखेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव, सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, जिल्ला न्यायाधिवक्ताहरू, संचारकर्मी लगायतको उपस्थिति थियो । त्यस्तै प्रदेश प्रहरी प्रमुखहरूको भने भर्चुअल उपस्थिति थियो ।

Categorized in राष्ट्रिय