arin enterprises

मनदेवी कसरी बनिन् ‘मनमयजु ?

SamacharDesk – महेश्वर श्रेष्ठ | २०८१ बैशाख १६, आइतबार

हालै घोषित काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका अन्तरगत पर्ने मनमयजु क्षेत्र यस अघि पूर्वतर्फ साविक ग्वंगबुँ गाविस र पश्चिम धर्मस्थली गाविस बीचको एउटा गाविस थियो ।

मनमयजु अजिमा दर्शनका लागि त्यस क्षेत्रमा जीवनमै पहिलो पटक जाँदा भेटिएका स्थानीय जेष्ठ नागरिक दशनारायण महर्जनका अनुसार पहिले उक्त क्षेत्रको नाम मदनपुर थियो । मनमयजु अजिमाको लोकप्रियता र प्रख्यातीले मदनपुरलाई अजिमाकै नामबाट त्यस क्षेत्रको नाम मनमयजु रहन गएको हो ।

मनमयजु अजिमाको पुरानो नाम मनदेवी थियो । सिद्धि प्राप्त अजिमा बन्नु भएपछि उहाँ मनमयजु नामले प्रख्यात हुनुभयो । मनमयजुको देवघर र शक्तिपीठ रहेको टारलाई फुसिंख्यः भनिन्छ । त्यसैले उहाँलाई फुसिंख्यः अजिमा पनि भनिन्छ ।

मनदेवी कसरी मनमयजु अजिमा हुनु भयो भन्ने बारे अत्यन्तै रोचक कथा छ । पहिले मनदेवी कुनै दैवी शक्ति सहितको देवी नभएर एकजना स्थानीय ज्यापु (किसान) की छोरी, सामान्य महिला हुनुहुन्थ्यो ।

आफ्ना सात जना दिदीबहिनीहरु सबैको विवाह भएको लामो समय पछि पनि आफ्नो विवाह हुन नसकेपछि मनदेवी निकै दुःखी हुनुहुन्थ्यो । बिफरले गर्दा उहाँको अनुहार छ्याकटे थियो । आयोडिनको कमीले गलामा बडेमानको गलगाँड थियो । फाइलेरिया रोगले उहाँका दुबै खुट्टा हात्तीका पाइला जस्ता थिए ।

उहाँ त्यस्तो डरलाग्दो किसिमले कुरुप त हुनुहुन्थ्यो नै, फूकफाक विद्या समेत जानेको हुनाले लोग्ने मान्छेहरु उहाँको नजिक पर्न समेत डराउँथे । त्यसबाट विरक्तिएर उहाँले घर नजिकको टोखाडो (साङ्लेखोला र विष्णुमती नदीको दोभान) स्थित मनोरथ तीर्थमा देवराज ईन्द्रको आराधना गरी १२ वर्षसम्म तपस्या गर्नुभयो ।

उहाँको तपस्याबाट प्रसन्न भएर एक मध्यरात देवराज ईन्द्र प्रकट भएर बर माग्न भन्नुभयो ।

मनदेवीले पनि आफूले जानेको तन्त्र विद्याद्वारा आफूलाई एक सुन्दर नारीको रुपमा ईन्द्र समक्ष प्रस्तुत गर्दै बिन्ती चढाउनु भयो– “हे देवराज ईन्द्र ! म को हुँ, म कस्तो छु र मैले किन हजुरको तपस्या गरें भन्ने बारे सर्वज्ञाता हजुर प्रभुलाई विदितै छ । मलाई आफ्नो पत्नी बनाएर मेरो उद्धार गर्नुहोस् ।’

स्त्रीलिङ्गी भनेपछि हुरुक्क हुने ईन्द्रले पनि मनदेवीको त्यस सुन्दर मायावी रुपबाट मन्त्रमुग्ध भएर उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गरी तत्कालै उहाँहरु बीच समागम भएछ ।

केहि समयको रतिक्रिडा पछि नजिकको बुँ (खेत) मा एउटा ग्वंगः (भाले) आएर बास्दै बिहान हुने संकेत दिंदा ईन्द्रले ‘ग्वंगः बुँइ हाल’ (भाले खेतमा बास्यो) भन्नु भएकोले त्यस खेतको नामै ग्वंगःबुँ (भालेखेत) रहन गएको हो ।

उक्त दिनको जात्रा हेर्न देवराज ईन्द्र पनि मध्यरातमा आउने र उहाँले मनमयजुलाई मायाको चिनो स्वरुप दिनु भएको हिरामोति जडित भोटो देखाउनु पर्ने भएकोले बिहान २ बजे नै जात्रा सकाउनु पर्ने परम्परा छ

भाले बासे लगत्तै ईन्द्रले स्वर्ग फर्केर जान मनदेवीसंग बिदा माग्दा उहाँले आफूलाई पनि संगै स्वर्ग लैजान बिन्ती गर्दा ईन्द्रले भन्नुभयो– ‘प्यारी मनदेवी, तिमी मर्त्यलोककी मनुवालाई स्वर्गमा लैजान मिल्दैन । म तिमीलाई तिम्रो जन्मथलोको रक्षा र भक्तहरुको कल्याण गर्ने शक्ति दिन्छु । त्यसको उपयोगको प्रभावले मानिसहरुले तिमीलाई मनदेवी होइन मनमयजु भनेर देवी तुल्य आदर गर्नेछन् र भव्य जात्रा पनि गर्नेछन् । हरेक पटक जात्रा हुँदा म पनि हेर्न आउनेछु । मेरो मायाको चिनो स्वरुप म यो भोटो तिमीलाई दिएर बिदा हुन्छु, मैले बताएको कुरालाई कर्तव्यको रुपमा पालना गर्नुु । लौ त अब म जान्छु है?’

यति भनेर ईन्द्रले आफूले लागाइराखेको हिरामोति जडित भोटो मनदेवीलाई दिएर अन्तरध्यान हुनु भएछ । ईन्द्रबाट प्राप्त शक्तिले मानवोपयोगी काम गर्दै जाँदा मानिसहरुले मनदेवीलाई आदर सम्मान गर्दै मनमयजु भन्न थालेछन् ।

ईन्द्रकी पत्नी ईन्द्रायणी भनिए तापनि उहाँलाई नवदुर्गा मध्ये एक दुर्गा मानेर पूजा पनि गर्न थाले ।

सोही वर्षको चैत्रशुक्ल पूर्णिमा (ल्हुति पुन्हि, जामाच्व मेला, बालाजु बाईसधारा मेलाको) दिनलाई मुख्य दिन पारेर मनमयजु अजिमाको जात्रा पनि प्रारम्भ भयो । उक्त दिनको जात्रा हेर्न देवराज ईन्द्र पनि मध्यरातमा आउने र उहाँले मनमयजुलाई मायाको चिनो स्वरुप दिनु भएको हिरामोति जडित भोटो देखाउनु पर्ने भएकोले बिहान २ बजे नै जात्रा सकाउनु पर्ने परम्परा छ ।

पहिले पहिले मनमयजु अजिमाको मूर्तिलाई ढकीमा राखेर जात्रा गरिन्थ्यो । राजा गुणकामदेवले काठमाडौं नगर विकासको प्रारुपमा मनमयजुलाई देश रक्षक अष्टमातृका मध्ये एक मातृका मान्दै अजिमालाई बस्नको लागि देवघर, शक्तिपीठमा छत र जात्राको लागि काठको खट निर्माण गर्न लगाए ।

देवघर र शक्तिपीठको हेरचाह र सुरक्षाका लागि स्थानीय ज्यापुहरुको एउटा द्यःपालाः गुठी हुन्छ । हाल त्यस गुठीमा आठ जना सदस्य छन् । उनीहरुले दुई दुई जनाको आलोपालो गरी देवघर र पीठको हेरचाह र रक्षा गर्छन् ।

अजिमाको जात्रा र अन्य सबै ठूला पूजाहरुमा काठमाडौं ठमेल क्षेत्रमा पर्ने क्वाःबाहाल अथवा झ्वाःबाहालकै बज्राचार्य नै पूजारी हुनु पर्ने परम्परा छ भने कुनै पनि अवसरका लागि आवश्यक सम्पूर्ण नगद जिन्सीको खर्च ठमेल विक्रमशील महाविहारका अधिपति प्रधानहरुको गुठीले व्यहोर्ने गर्दछ ।

जात्रा पर्वको बेला आएर बस्न र गुठी पूजा गर्न मनमयजु अजिमाको शक्तिपीठ नजिकै ती प्रधानहरुको गुठीघर अद्यापी छ । तर लामो समयदेखि प्रयोगमा नआएको र मर्मत संभार पनि नभएकोले भग्नावशेषको रुपमा रहेका छन् ।

मनमयजु अजिमा (ईन्द्रायणी) शक्तिपीठ दशैंमा नवरथ मेला भरिने पीठ पनि हो ।

कौलाथ्व (आश्विनशुक्ल) षष्ठीको दिन माथि उल्लिखित टोखाडो (साँग्लेखोला र विष्णुमती नदीको दोभान) स्थित मनोरथ तीर्थमा स्नान गरी मनमयजु अजिमा शक्तिपीठमा ब्व (ठूलो लपेस वा ठूलो खालको टपरीमा भोजको परिकारहरु) अर्पण गरी शक्तिपीठको सामुन्ने बाटोको पारीपट्टी रहेको तारकेश्वर महादेवको मन्दीरमा अर्घमा राखेर जल चढाउने गरिन्छ ।

Categorized in विचार
SKIP THIS dahain 2081