पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान देशभर सुरु
SamacharDesk – बिराज | २०८१ माघ २२, मंगलबार

नव किशोरीहरुलाई प्रदान गरिने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ ।
प्रधानमन्त्री के. पि. शर्मा (ओली) ले काठमाडौँ महानगरपालिका वडा नं. ३ को स्वास्थ्य प्रवर्ध्दन केन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारिअर हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेका छन् ।
खोप कार्यक्रम शुभारम्भ अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले, रोग र व्याधीमुक्त समाज निर्माणका लागि निरोगी जीवन कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप क्यान्सरविरुद्धको खोप प्रदान गर्न थालिएको बताए ।
‘रोग लागेर उपचारमा जानु भन्दा रोग लाग्नै नदिनु बेश भन्ने भनाईलाई आत्मसात गर्दै घातक रोग लाग्नै नदिने कार्यक्रमको थालनी हो यो । यससँगै नागरिकले स्वस्थ्य जीवनका लागि आहार, विराम र आराममा ख्याल गर्नुपर्छ’ प्रधानमन्त्री ओलीको जोड थियो ।
सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने लक्ष्यअनुरुप कार्यक्रम थालिएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदीप पौडेलले खवर नपुगेर कोही पनि खोप सेवाबाट बञ्चित हुन नपर्ने गरी सबैले सञ्चार प्रवाहमा योगदान गर्न आह्वान गरे ।
खाेप अभियान शुभारम्भपछि काठमाडाैं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले खोप केन्द्रको अवलोकन गराएकी थिइन् ।
Categorized in राष्ट्रिय