घन्किन थाल्यो कृष्ण मन्दिरमा भजन
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ २, मंगलबार

निकै भयो यहाँ शंखको आवाज नसुनिएको, तबलाको ताल र हार्मोनियमको सुरसँगै भजन गुन्जिएको सुन्न धेरै भक्तजनहरु लालायित थिए । तर लकडाउनका कारण यहाँ भजन गुन्जिने समयमा सुनसान नै रहन्थ्यो ।
तर अब यहाँको वातावरण फेरीएको छ । साँझ ५ बजेपछि पाटन दरवार क्षेत्रमा घण्टा बजेको आवाजसंगै शंख, झ्याली, आदिको संगीतमय आवाज सुनिन्छ ।
त्यो आवाज अरू नभएर साँझको आरती गर्नु अघिको भजन सुरू गर्न कृष्ण मन्दिरमा गरिने द्यः ल्हायेगु हो ।
द्यः ल्हायेगु भनेको कुनै पनि सांगीतिक प्रस्तुति अगाडि बाजा, नृत्य तथा संगीतका देवता नृत्येश्वर, नात्येश्वर वा स्थानीय भाषामा नासःद्यःलाई आवहान गरिने परम्परा हो ।
यसो गर्दा स्वयं नासःद्यः बाजामा विराजमान साँगितिक प्रस्तुति वा गतिविधिमा रौनक बढाउने जनविश्वास छ ।
नेपालमा चैत ११ गतेबाट बन्दाबन्दी सुरू भएपछि कृष्ण मन्दिरमा केही हदसम्म नित्यपूजा समेत रोकिएको थियो ।
तत्कालिन पूजारी प्रतापधर शर्माले सहायकहरूसहित प्रत्येक आठ/आठ दिनमा मन्दिर आई सरसफाईको साथै नित्यपूजा गर्ने गरेका थिए ।
अझ त्यत्ति गर्न पनि गार्हो । माथि नित्यपूजा भइरहदा प्रहरीले मन्दिरबाट तल बोलाई सोध्ने गथ्र्यो रे ‘किन माथि बसेको ?’
‘हामी यहाँ नित्यपूजा गर्न आएको भन्दा पनि प्रहरीले अरू ठाउँमा पूजा रोकेको छ, यहाँ मात्र किन गर्नुपर्ने भनी गाली गर्थ्यो हामीलाई’ नित्यपूजामा सहयोग गर्ने सहायक कृष्ण गोपाल श्रेष्ठले गुनासो पोखे ।
पछि कुम्भेश्वरमा पनि नित्यपूजाको साथमा चैत्र महिनामा सुरू भएको अतिरुद्रि पनि निरन्तर रहेको र त्यहाँ कुनै किसिमको अप्ठ्यारो नभएको थाहा भएपछि नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट यहाँ पनि दैनिक रूपमै नित्यपूजा सुरु गरिएको थियो ।
पुरै ८१ दिनपछि कृष्ण मन्दिरको भजनले पुरानै स्वरुप पायो
बन्दाबन्दीपछि रोकिएको भजन पनि त्यसको २ दिनपछि सुरू त गरियो तर कुनै पनि बाद्य सामग्रीको साथ भएन । न त द्यः ल्हायेगु नै गरिन्थ्यो ।
जेष्ठ पूर्णिमा अर्थात ज्याःपुन्हिको दिनमा राजा श्रीनिवास मल्लको राजसिंहासन प्रदर्शन गरिँदा उनका बाबु राजा सिद्धिनरसिंह मल्लद्वारा रचित ३२ वटा भजन गाइयो । त्यस समयमा पुरै मंगलबजार भजनबाट गुन्जयमान भयो ।
प्रत्येक एक वर्षमा पूजारीको पालो फेरीने कृष्ण मन्दिरमा ज्याःपुन्हिको भोलिपल्टबाट महेशधर राजोपाध्यायले पालो थापे । महेशधरले पालो थापेको केही दिनपछि हारमोनियम र झ्यालीको साथ भजनहरू गाइए तर द्यःल्हायेगु भने हुन सकेको थिएन ।
गत शुक्रबार भन्नाले जेठको ३० गतेबाट भजनले सारा औपचारिकता पायो । पुरै ८१ दिनपछि कृष्ण मन्दिरको भजनले पुरानै स्वरुप पायो ।
सो दिनबाट पुनः हारमोनियम, तबला, झ्याली, तिन्छु आदि सहित शंख र दिव्य घण्ट समेत बजाइयो ।
भजन सुरु गर्नु अघि द्यः ल्हायेगु पनि गरी नासःद्यः आव्हान गरीयो भने भजन सकाउँदा पनि द्यः ल्हायेगु गरी नासःद्यःलाई पुनः यथास्थानमा फर्किन आग्रह गरीयो ।
यसरी कृष्ण मन्दिरमा २०७२ सालको विनाशकारी भूकम्पको समयमा पनि करिब दुई महिना भजन राकिएको भजन मण्डलका महालक्ष्मी वैद्यको भनाई छ ।
प्राकृतिक प्रकोपले मानव समाजमा असर परेपछि धर्म परम्परामा पनि असर पर्नु स्वाभाविक हो । यस्ता धर्म सँस्कृतिहरु नै हाम्रो पहिचान हो । यसको संरक्षण गरिनुपर्छ । तर समय अनुसार आवश्यक सावधानी, सतर्कता अपनाउनु पनि आवश्यक छ ।
Categorized in संस्कृति