दिल्लीको जहांगीरपुरी क्षेत्रमा हिंसा भड्कियो
SamacharDesk | २०७९ बैशाख ४, आइतबार

भारतको उत्तर पश्चिम दिल्लीको जहांगीरपुरी क्षेत्रमा शनिबार दुई समुदायबीच हिंसा भड्कियो । हनुमान जयन्तीको जुलुसमा हिंसा भड्किएपछि कैयौं घाइते भएका थिए ।
हिन्दुस्तान टाइम्सको अनुसार हिंसामा ६ प्रहरी घाइते भएका छन् भने एक स्थानीय नागरिक घाइते भएका छन् । हनुमान जयन्तीका अवसरमा करिब तीन सयदेखि चार सय मानिसको जुलुस निस्कने क्रममा उक्त घटना भएको हो । जहाँगीरपुरी इलाकाको सी–ब्लक हुँदै जुलुस जाँदै गर्दा झडप र ढुंगामुढा भएको थियो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै कयौं सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । झडपमा सवारी साधनहरुमा आगजनी गर्नुका साथै भौतिक सम्पतीमा समेत क्षति पुर्याइएको छ । हाल सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
