arin enterprises

येँया (इन्द्रजात्रा) सुरु

SamacharDesk | २०७९ भाद्र २२, बुधबार

वर्षा र सहकालका देवता इन्द्रको पुजा गरी मनाइने इन्द्रजात्रा आजदेशि शुरु भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरिएसँगै यो जात्राको शुभारम्भ हुन्छ ।

आज विहान ७ बजेर १५ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरियो । आठ दिनसम्म मनाइने इन्द्रजात्रा भाद्र शुक्ल चतुदर्शी र पूर्णिमाको दिन रथयात्रा गर्ने गरिन्छ ।

जस अनुसार यो वर्ष भदौ २४ र २५ गते इन्द्रजात्राका मूख्य दिन परेको छ । २४ गते क्वनेया भनेर मरु, चिकंमुगल, न्हूघ, लगन, ह्यूमत, कोहिटि, भिमसेनस्थान हुँदै वसन्तपुरसम्म पु¥याएर जात्रा समापन गरिन्छ भने दोस्रो दिन थनेया अन्तर्गत प्याफल, नेत, बांगेमुढा, असन, इन्द्रचोक हुँदै हनुमानढोकासम्म पु¥याइन्छ ।

जात्राको अन्तिम दिन भदौ २९ गते नानिचायाय् भनेर किलाघलमा रथ तान्ने प्रचलन रहिआएको छ । सोही दिन रथजात्रा समापन भएपश्चात राती इन्द्रध्वजा ढालेपछि इन्द्रजात्रा समापन हुने गर्दछ । ध्वजारोहण कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी हुनुहुन्थ्यो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवतालाई सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी मनाउने चलन छ ।

१२औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

Categorized in संस्कृति