येँयाः (इन्द्रजात्रा)को मुख्य दिन आज क्वनेयाः मनाईंदै
SamacharDesk – राम डंगोल | २०८१ आश्विन १, मंगलबार
काठमाडौं उपत्यकामा आज प्रसिद्ध येँया (इन्द्रजात्रा) पर्व मनाइँदै छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ ।
भक्तपुरको चित्तपोलबाट ल्याइएको विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने येँयाः (इन्द्रजात्रा)को मुख्या दिन आज क्वनेयाः (तल्लो क्षेत्रमा) जात्रा गरी धुमधुमका साथ मनाईंदैछ ।
देवराज इन्द्रको पूजा आराधना सँगसँंगै नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौँको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ ।
यो जात्रा गर्नु अघि हनुमानढोकाको गद्दीबैठकमा राष्ट्रप्रमुख उपस्थित भइ गणेश भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन छ । यस अवसरमा विभिन्न देवीदेवताहरुको पूजाआजा तथा नाच देखाइन्छ ।
जसमा लाखे आजु, पुलुकिसी, हलचोक भैरव, महाकाल नाच आदि देवीदेवताहरुको पनि नाचगान प्रदर्शन गरी नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
जात्रामा राष्ट्रप्रमुखको उपस्थिति, जयप्रकाश मल्लको पालादेखि चलिआएको र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जिवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम् रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ ।
किंवदन्ती अनुसार आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउँदै आएको छ ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ।
क्वनेयाःको दिन जिवित देवी कुमारी, गणेश, भैरवको रथलाई मरुटोल अर्थात् वसन्तपुरबाट रथ तानेर काठमाडौँको चिकंमुगल, न्हूघः, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेनस्थान हुँदै वसन्तपुरमै ल्याएर आजको जात्रा टुङ्ग्याइन्छ ।
क्वःनेया जात्राको अर्को आकर्षण भनेको दिप्याखँ पनि मुख्य रहेको छ । किलागलबाट निस्कने उक्त नाच आज न्हूघः जैसिदेवलको दवलीमा नचाइन्छ । दिप्याखँमा कुमारी, गणेश, भैरवलगायत अन्य देवगणहरुको नाच देखाइन्छ ।
सो नाच जिवित देवी कुमारीलाई केहीबेर अवलोकन गराउने प्रचलन रहेको छ । साथै दिप्याखँमा कुमारीबाट दैत्यको सम्हार गर्ने जसलाई स्थानीय भाषामा दैत्य क्वथय्गु नाच देखाई दिप्याखँ समापन हुने गर्दछ ।
त्यस्तै ह्यूमतस्थित ह्यूमतः ९घुम्ने दियो० बालेर देवी कुमारी, गणेश, भैरवलाई आरती गर्ने प्रचलन रहिआएको छ । साथै ठाउँठाउँमा सय्मबजी चढाउने र प्रसादको रुपमा ग्रहण गर्ने परम्परा पनि रहिआएको छ ।
क्वनेयाः समापनपश्चात मरुको छ्वासुपाखाःबाट इन्द्रको आमाको रुपमा पुजिदै आएको डाँगी निकाल्ने गरिन्छ । डाँगी सँगैसँगै वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।
यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ। यो जात्रा काठमाडौँका मानन्धर समुदायले गर्छन्।
जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ। त्यस दिन नेवार समुदायका मानिसहरूले सममय्बजी खान्छन् ।
यंलागा चौथी (आश्विन कृष्ण चौथी)का दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ।
जात्रा सँगसँगै मजिपा लाखे, किलागलको दीप्याखँ, किलागलकै पुलुकिसी नाच, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाश भैरव गण नाचहरु रथयात्राको सँगसँगै जात्रा गरिन्छ भने विभिन्न ठाउँमा नाच पनि देखिन्छ ।
साथै कुमारीघरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ।
Categorized in संस्कृति