कामपा २३ वडाका बहाःबहीहरुको जानकारी अब क्यूआर कोडमा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० चैत्र २१, बुधबार

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आधुनिक प्रविधिलाई आत्मसात गर्दै स्थानीय संस्कृति, सम्पदा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने बताएकि छन् ।
आज काठमाडौंका वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्थानीय संस्कृति, सम्पदाको संरक्षण र प्रवर्ध्दनको लागि प्रविधिसँग अघि बढ्नुपर्नेमा जोड दिइन् ।
‘हामीले आधुनिकतालाई पनि आत्मसात गर्दै हाम्रा ऐतिहासिक संस्कृति, सम्पदाको संरक्षण गर्नुपर्छ । हाम्रा संस्कृति सम्पदाको संरक्षणका लागि पुस्तान्तरण हुनु आवश्यक छ र यसको लागि विज्ञान र प्रविधिको सहयोग लिनैपर्छ’ डंगोलले भनिन् ।
कार्यक्रममा उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिका २३ वडामा अवस्थित बहाः बहिलहरुको जानकारी लिन सकिने क्यूआर कोड प्रणालीको शुभारम्भ गरेकी थिइन् ।
क्यूआर कोड शुभारम्भ भएसँगै पुर्खाले बनाएको सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुनुका साथै र यसको अध्ययन अनुसन्धानले पनि व्यापकता पाउने विश्वास डंगोलले पोखिन् ।
कार्यक्रममा बोल्दै कामपा २३ वडाका वडाध्यक्ष मचाराजा महर्जनले स्थानीय सम्पदा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने परिकल्पनासहित यस प्रणालीको विकास गरिएको बताए ।
‘सम्वर्धन संस्था’ नामक संस्थाकाे प्राविधिक सहयोगमा कामपा २३ वडाले क्यूआर कोड प्रणालीकाे विकास गरेको हो ।
कार्यक्रममा सम्वर्धनका उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठले यस किसिमको प्रणाली विकासमा पहिलो नभएपनि विस्तृत सोध अनुसन्धानसहितको प्रणाली भने पहिलो भएको दावी गरे ।
ईतिहासको गहन अध्ययन, स्थलगत अनुसन्धान, श्रव्यदृश्य जानकारीसहित यस क्यूआर कोडको विकास गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘विश्वमा कहिं नभएका मुर्त अमुर्त सम्पदाहरु, कला, संस्कृतीहरुको खानी नेपालमा भएता पनि यस्को बारेमा तथ्य जानकारीहरु भने सिमित मात्रै पाईन्छ । यो हाम्रो परियोजनाले हाम्रा सम्पदा, कला, संस्कृतिको बारेमा तथ्य जानकारीहरु स्वदेशी तथा विदेशीहरुलाई दिने माध्यमका रुपमा काम गर्नेछ’ उपाध्यक्ष श्रेष्ठले भने ।
यस क्यूआर कोड प्रणालीमा २३ वडाका बहाःबहीहरुको श्रब्य दृश्यसहित नेपाली र अंगेजी दुवै भाषामा जानकारी लिन सकिने बताइएको छ ।
इतिहासविद् डा. जुनु बासुकलाले अध्ययन गरी तयार पारेकाे इतिहास सम्वन्धि विभिन्न दस्तावेजहरुको अध्ययनबाट यस क्युआर कोड प्रणाली विकास गरिएको कामपा २३ वडाले जनाएको छ ।
Categorized in स्थानीय