भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
SamacharDesk | २०८१ मङ्सिर २४, सोमबार
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ ।
हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने उद्देश्यका साथ आजको दिन अर्थात् ९ डिसेम्बरलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र संघको महासभाले ३१ अक्टोबर २००३ मा भ्रष्टाचारविरुद्ध दिवस मनाउने प्रस्तावलाई पारित गरेको हो । सन् २०२१ मा यो दिवसको मूख्य नारा सरकारी, गैरसरकारी, निजी, सामाजिकलगायतका सबै क्षेत्रको सहभागितामा भ्रष्टाचार उन्मूलन गर्ने एक्यबद्धता रहेको छ ।
दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।
भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाले औँल्याउँदै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ। भ्रष्टाचार भनेको पैसामा मात्र हुँदैन, कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले कानुनविपरित वा आफू अनुकूल पदीय दुरुपयोग गर्नु वा धारण गरेको पदलाई माध्यम बनाएर गलत काम गर्नु पनि भ्रष्टाचार गर्नु हो ।
मानिसहरुले सुखसयलमा बाँच्ने लालसामा भ्रष्टाचार गरिरहेको पाइन्छ, तर जीवनमा सबैभन्दा महत्त्वपूर्ण आर्थिक सफलता होइन, सामाजिक सम्मान हो भन्ने बिर्सनु हुँदैन ।
भ्रष्टाचार गर्ने व्यक्ति मात्र होइन, भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने व्यक्ति पनि उत्तिकै कारवाहीको भागिदार हुनु जरुरी छ । जसले भ्रष्टाचार गर्न उत्प्रेरित गर्छ, उसले भ्रष्टाचार हुने क्रमलाई थप बढाइरहेको हुन्छ ।
त्यसैले हाम्रो देशको कानुनमा भएअनुसार भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कारवाही गर्नुपर्छ ।
Categorized in राष्ट्रिय